काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल्स क्षेत्रमा संलग्न व्यक्तिहरुलाई तत्काल खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको एक प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारी, टेक्नीसीयन र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन माग गरेको हो ।
नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्यामा परेको बताए । यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजस्वमा समेत परेको उनको भनाइ थियो । सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भए पनि अटोमोबाइल क्षेत्रमा संलग्न व्यक्तिहरु खोपको अभावमा आफ्नो कार्यक्षेत्रमा जान नसकेको उनले बताए ।
खासगरी व्यवसायको फ्रन्टलाइनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई धेरै समस्या भएको उनको भनाइ थियो । कोभिड १९ का कारण अटोमोबाइल व्यवसायले अझै गति लिन नसकेको भन्दै उनले अटोमोबाइल व्यवसायलाई थप गतिशील बनाउन खोपको टड्कारो आवश्यकता भएकोले तत्काल खोप उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य राज्यमन्त्रीसँग आग्रह गरे ।
उक्त भेटमा राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको नाडाले जनाएको छ । यस्तै नाडाको सोही प्रतिनिधिमण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसँग पनि भेटी आवश्यक खोप उपलब्ध गराइदिन माग गरेको छ ।