काठमाडौं । बौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै प्रलोभनमा पारी नगद ठगी गरेको आरोपमा दुई जनालाई बिहीबार काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका–३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका–८ मृगस्थली दाङ शान्तिनगर गाउँपालिका–४ घर भएका ६५ वर्षीय छन्त्याल भन्ने पूर्ण बहादुर मगर रहेका छन् ।
उनीहरूले २ जना पीडितलाई ४ करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेकोमा पैसा नपुगेकोले पुस्तक विश्वासका लागि बन्धकी स्वरुप राखी केही रकम दिनुहोस भनी विश्वासमा पारी पीडितसँग नगद १५ लाख पाँच हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ठगी कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।