दोलखा । सरकारले शिक्षक र शिक्षा क्षेत्रको अपमान गरेको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघको निर्देशनअनुसार देशभरका सबै शिक्षकहरू आन्दोलनमा उत्रेका हुन् ।
केन्द्रीय निर्देशनअनुसार नेपाल शिक्षक महासंघ दोलखाले पनि जिल्लाका सबै स्थानीयतहमा विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका छ । महासंघले शुक्रवारदेखि जिल्लाका सबै स्थानीय तहको कार्यालय र जिल्ला शिक्षा समन्वय इकाइमा आफ्ना ३४ बुँदे विभिन्न मागसहित रिले अनशन सुरु गरेको हो । उनीहरूले आफ्ना माग स्थानीयतहका जनप्रतिनिधिमार्फत सरकारलाई बुझाएका छन् ।
महासंघले गुणस्तरीय शिक्षाका लागि कुल बजेटको २० प्रतिशत लगानी गरिनुपर्ने, बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई सरकारको बजेट भाषणमार्फत घोषणा गरेको मासिक १५ हजार केन्द्र सरकारले नै व्यवस्था गर्नुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रम निर्माणको अधिकार संघीय संरचनामा हुनुपर्ने, शिक्षक महासंघलाई आधिकारिक ट्रेड युनियनको मान्यता दिनुपर्ने लगायतका माग राखेको छ ।
यस्तै महासंघले शिक्षकलाई निजामती कर्मचारी सो सरहको सेवा सुविधा हुनुपर्ने, शैक्षिक क्षेत्रका लागि छुट्टै राष्ट्रिय मर्यादाक्रम कायम गरिनुपर्ने, शिक्षक कर्मचारीको उपचारको लागि शिक्षक अस्पताल स्थापना गर्नुपर्ने माग राखेको छ ।