काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौँलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।
सो समझदारी पत्रमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् । बैंकको देशभर हालसम्म ८६ वटा शाखा सञ्जाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटीएम रहेका छन् ।