नयाँ दिल्ली । भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार छ सय ४९ जना नयाँ संक्रमित भएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख आठ हजार नौ सय २० जना संक्रमित अवस्थामै रहेका जनाएको छ । संक्रमित अवस्थामै रहेकाको यो संख्या कूल संक्रमितहरुको संख्याको १.२९ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल संक्रमितको संख्या तीन करोड १६ लाख १३ हजार नौ सय ९३ जना पुगेका छन् । भारतमा अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने तीन करोड सात लाख ८१ हजार दुई सय ६३ रहेको छ । तीमध्ये ३७ हजार दुई सय ९१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।