काठमाडौं । नक्कली मिति राखेर सामान बिक्रीवितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मिनभवका अनुसार झण्डै दुई करोड रुपैयाँ मूल्यबराबरको सामानमा नक्कली मिति राखेर बजारमा पठाउने तयारी भइरहँदा सामानसहित एक भारतीय र अर्का नेपाली नागरिक पक्राउ परेका हुन् ।
महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका १३ घर भई हाल काठमाडौं महानगरपालिका छाउनी बस्ने ३१ वर्षीय अविनाश अग्रवाल र भारतको राजस्थान सिकर जिल्ला घर भई हाल काठमाडौंको सानो भ-याङ बस्ने ४१ वर्षीय महावीर गजुर छन् ।
उनीहरुले म्याद गुज्रेका कस्मेटिक्स सामानहरु बडी स्प्रे, एयर फर्सेन, स्याम्पो तथा कार वासलगायतका सामानहरुमा पुरानो मिति उप्काई नयाँ मिती राखेर बिक्रीवितरण गर्दै आएका थिए । प्रहरीले उनीहरुमाथि शंका गर्दै अनुसन्धान गरिरहेको थियो । सो क्रममा आइतबार ती व्यक्तिहरुलाई सानोभ-याङबाट पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
सानो भ-याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको साढे तीनतले घरमा नयाँ मिति टाँस गरी बजारमा पठाउन तयारी अवस्थामा राखेको अन्दाजी एक करोड रुपैयाँ मूल्यबराबरको सामानसहित ती व्यक्तिहरु पक्राउ परेका हुुन् । सोपश्चात् उनीहरुको काठमाडौंको भोटेबहालमा रहेको गोदामबाट पनि सोही मूल्यबराबरको सामान बरामद भएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
दुवै ठाउँमा गरी झण्डै दुई करोड रुपैयाँ मूल्यबराबरको बजारमा पठाउन तयारी अवस्थामा राखेको सामान बरामद भएको उनको भनाइ छ । दुवै जनाको गोदाममा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग बबरमहलको समन्वयमा सिल गरी थप अनुसन्धान तथा कारबाहीको लागि विभागमा पठाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।