दोलखा । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले पछिल्ला दिनहरूमा कोभिड १९ संक्रमण बढ्दो क्रममा रहेकोले आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति निकाल्दै कार्यालयले नेपालमा कोभिडका नयाँ भेरियन्टहरूको पहिचान भएको र निषेधाज्ञा केही खुकुलो भएसँगै दोलखामा पनि पछिल्ला दिनहरूमा कोभिड १९ संक्रमण बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
पछिल्लो समय नमूना संकलन गरी परीक्षण गरिएकामा डेल्टा भेरियन्टसहित नयाँ भेरियन्टहरू समेत पुष्टि भएको र यी भेरियन्टहरूले सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्नसक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न स्वास्थ्य कार्यालय दोलखाले अनुरोध गरेको छ । त्यसैगरी अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन, निस्कनैपर्ने भएमा नाकमुख छोप्ने गरी मास्क लगाउन, एक–आपसमा भेट्दा कम्तीमा पाँच हातको दूरी कायम राख्न, बारम्बार साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचीमिची हात धुन अनुरोध गरेको छ ।
दोलखामा आइतबार परीक्षण गरेकामध्ये ५५ प्रतिशत मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ । ६१ जनाको कोरोना रिपोर्ट आउँदा ३४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमेश्वर नगरपालिकाको चरीकोट अस्पतालमा ४४ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र अन्य पालिकाहरूमा १७ जनाको एन्टीजिन परीक्षण गर्दा १३ जना गरी ३४ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै सक्रिय संक्रमितको संख्या तीन सय ३१ पुगेको छ ।