काठमाडौं । असुरक्षित रोजगारी मानिने वैदेशिक रोजगारीका हरेक पाटा जोखिमयुक्त छन् । विशेषगरी गन्तव्य मुलुकको रुपमा रहेको खाडीका छवटा (साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत, ओमान) र मलेसिया नेपाली युवाहरुको लागि सुरक्षित रहेको पाइँदैन । सामान्य सेवा सुविधादेखि लिएर जोखिमयुक्त काम गर्नुपर्ने, स्वास्थ्य उपचारलगायतको अभावले गर्दा समेत गन्तव्य मुलुकमा जाने नेपाली युवाहरुको जीवन नै धरापमा रहेको पाइन्छ ।
सरकारी तथ्यांकअनुरुप वैदेशिक रोजगारीमा जाने युवाहरुको मृत्युदर वर्षेनी बढेको पाइन्छ । गत आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीमा गएका युवाहरुमध्ये १२१३ पुरुष र २९ महिला गरी १२४३ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा वैदेशिक रोजगारीमा गएका युवाहरुमध्ये ६३९ पुरुष र १७ जना महिला गरी ६५६ जनाको मृत्यु र आर्थिक वर्ष २०७५/०७६ मा २३ महिलासहित ७५३ जना र आर्थिक वर्ष २०७४/७५ मा आठ सय पुरुष र २१ महिला गरी ८२१ जना नेपालीको मृत्यु भएको छ ।
यसरी वर्षेनी मृत्युदर बढ्दा सरकारले भने यसको कारण बारेमा खोजी गरेको पाइँदैन । विदेशबाट आएको विप्रेषणले मुलुक चलेको भए पनि विदेश जानेको अवस्थालाई लिएर भने सरकार गम्भीर भएको छैन । गन्तव्य मुलुकहरुले विदेशमा मृत्यु भएकाको हकमा भने मृत्युको कारण थाहा नभएको, प्राकृतिकलगायतका कारण देखाउने गरेको बोर्डको भनाइ रहेको छ ।
नेपालमा रहेका आफन्तहरुलाई आश्वस्त पार्न मृत्युको कारणबारे अनुसन्धान भइरहेको व्यहोरा नेपालमा पठाइने गरेर घटना साम्य पार्ने गरेको पाइन्छ । विदेशमा ज्यान गुमाएका नेपालीहरुको पोस्टमार्टम नगरी शव नेपाल पठाउने परिपाटीका कारण मृत्युको कारण नै अन्योलमा छ । हृदयाघात, आत्महत्या, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, बिरामीजस्ता कारणबाट श्रमिकको मृत्यु हुने गरेको बोर्डका अधिकारीहरु बताउँछन् ।
वैदेशिक रोजगारी असुरक्षित भएकै कारण युवाहरुले अकालमा मृत्यु हुनुको साथै, दुर्घटनामा परी अंगभंग हुने, बिरामी पर्ने, अलपत्र पर्नेलगायतका समस्या देखिन्छ । वैदेशिक रोजगारीको क्रममा युवाहरु विदेश वा स्वदेशमा मृत्यु, बिरामी, दुर्घटना, बिरामी भएमा बोर्डले कल्याणकारी कार्यअन्तर्गत आर्थिक सहायता वितरण गर्ने गरेको छ ।
यसैबीच, आर्थिक वर्ष २०७७/०७८ मा विदेश गएका एक सय ३८ पुरुष र पाँच महिला अंगभंग/गम्भीर बिरामी भए, दुई सय २६ पुरुष र एक सय ८७ महिला अलपत्र परेको बोर्डले जनाएको छ । बोर्डले कल्यणकारी कार्यअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा तीन पुरुष र एक महिला गरी कामदारका परिवारलाई औषधोपचार सहयोग, सात सय ४८ पुरुष र २२ महिलाको शव घरसम्म पु¥याएको २१ महिलालाई अभिमुखीकरण तािलमबापतको रकम शोधभर्ना र २००१ पुरुष र २०८ महिलालाई वैदेशिक रोजगार छात्रवृत्ति प्रदान गरेको छ ।
यसैबीच, बोर्डले कल्याणकारी कार्यअन्तर्गत विभिन्न शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ मा ८७ करोड ३९ लाख वितरण गरेको छ । बोर्डले गत आर्थिक वर्षमा ७३ करोड ७७ लाख मृतक कामदारका परिवारलाई क्षतिपूर्ति तथा राहत, सात करोड ३३ लाख अंगभंग/गम्भीर बिरामी कामदारलाई, दुई लाख कामदारका परिवारलाई औषधोपचार सहयोग, दुई करोड ६६ लाख अलपत्र कामदारको उद्धार, ९० लाख शव झिकाउन समन्वय र सहयोग, १७ लाख मृतकको शव घर ठेगानासम्म पु-याउन आर्थिक सहयोग गरेको छ । यस्तै, सोही वर्ष १४ हजार अभिमुखीकरण तालिमबापतको रकम शोधभर्नाका लागि, दुई करोड आठ लाख वैदेशिक रोजगार छात्रवृत्ति प्रदान गर्न र ४६ लाख सान्त्वना राहतस्वरुप वितरण गरेको छ ।
बोर्डले कल्याणकारी कार्यअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा करिब ६७ करोड र आर्थिक वर्ष २०७५/०७६ मा ६२ करोड ३६ लाख ५४ हजार रुपैयाँ वितरण गरेको छ । वैदेशिक रोजगारीमा जाने युवाहरुले तीन वर्षसम्मको करार अवधि भए एक हजार पाँच सय रुपैयाँ र सोभन्दा बढी भए दुई हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषलाई प्रदान गर्नुपर्छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३२ को उपदफा (१) मा वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्की आएका कामदार तथा निजको परिवारको सामाजिक सुरक्षा र कल्याणको लागि बोर्डको मातहतमा रहने गरी कल्याणकारी कोषको स्थापना गरिएको हो ।
वर्षेनी पाँच लाख युवाहरु रोजगारीको खोजीमा विदेशिने गरेको पाइन्छ । यसरी विदेशिने युवाहरुले मासिक करिब सात खर्ब विप्रेषण भित्र्याउने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को ११ महिनामा नेपालको विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स रकम १२ दशमलव छ प्रतिशतले बढेर आठ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।