काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापारघाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मिहिनेत गर्नुपर्ने बताएका छन् । नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीको पदबहाली तथा स्वागत कार्यक्रममा उनले अर्थतन्त्रलाई माथि उकास्न थोरै समयमा धेरै काम गर्नुपर्ने बताए ।
मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन समेत दिए । उनले अर्थसचिवलाई अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न आग्रह गरे । साथै उनले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरूले समेत सोही स्प्रिटलाई मनन गर्न निर्देशन दिए । ‘मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटो–छिटो काम गर्नुपर्छ ।’, उनले भने, ‘मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा ग-यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।’
महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानाको बिदाई समेत गरिएको थियो । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री शर्माले निवर्तमान सचिवको बिदाई र नवनियुक्त सचिवको स्वागत गरेका थिए ।
कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवर्द्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मिहिनेपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका थिए । जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसङ्ग उल्लेख गर्दै उनले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पु¥याउने बताए ।
कार्यक्रममा निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरू विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । कोभिड महामारीकै बीच राजस्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको सञ्चिति रहेको, विप्रेषण वृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएको लगायतका सकारात्मक परिसूचकहरूसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको उनले बताए ।
अर्थ मन्त्रालय र मातहतका निकायहरूमा १३ वर्ष ९ महिना काम गरेका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरूको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरूको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरूको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतमा ध्यान केन्द्रित गर्नुुपर्ने सुझाव दिए ।
कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव ढुङ्गानाको बिदाईले अर्थ मन्त्रालयमा सिर्जना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्बद्ध निकायमा काम गरेको अनुभव संगालेका योग्य सचिव मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गरे । यस्तै राजस्व सचिव पुडासैनी पनि साउन २४ गते शनिबारदेखि सेवा निवृत्त हुँदै छन् ।