काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर सेयर खरिद प्रकरणमा महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल संलग्न नरहेको बताएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मंसिर ३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उनको बोर्ड बैठकमा २०७७ माघ ११ देखिमात्र उपस्थिति रहेको जानकारी दिएको छ ।
वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नुअगावै उनका भाइ हेमराज ढकालले खरिद गरेको सेयर कारोबारको विषयलाई लिएर चन्द्र ढकालको नाम जोडिनु गलत भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार हेमराजले चन्द्र ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मंसिर १४ गते सेयर कारोबार गरेका थिए ।