काठमाडौं । नेपालस्थित कन्सुलरहरूको छाता संगठन अनररी कन्सुलर कर्प्स–नेपाल (एचसीसी–एन) का नवनियुक्त तथा पोल्यान्डका अनररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार एक समारोहका बीच पदभार ग्रहण गरेका छन् । उक्त विशेष समारोहमा निवर्तमान डिन तथा मोरक्कोका अवैतनिक महावाणिज्य दूत वसन्त चौधरीले नवनियुक्त डिन लोकमान्य गोल्छालाई पदभार हस्तान्तरण गरेका थिए ।
एचसीसीएन नेपालमा विभिन्न देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्य दूतहरूको संख्या ५३ रहेको छ । कोभिड १९ महामारीको पहिलो र दोस्रो लहरको भयावह अवस्थामा आ–आफूले प्रतिनिधित्व गर्ने देशहरूमार्फत कन्सुलरहरूले स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । महामारीका बीच लकडाउनका कारण विभिन्न देशका नागरिकहरू आफ्नो देश फर्किन नसकेको बेला एचसीसीएनका सदस्यहरूले अहोरात्र खटी ती टुरिष्टहरूलाई उनीहरूको मुलुक फिर्ता पठाउने कार्य गरेका थिए ।
नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत वसन्त चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।
सन् २००७ मा कन्सुलरहरूबीच मित्रवत् व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरूबीच सूचना आदानप्रदानलगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो । एचसीसी–एनको पहिलो डिनको रुपमा स्विडेनका लागि कन्सुल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सुलरहरूले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।