काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरूलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग सोमबार सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाशुल्कहरूमा छुट पाउनेछन् ।
सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले ओपिडि टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र ईसीजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा पाँच प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।
देशका एक सय तीनवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।