अमेरिका । भिडियो कन्फरेन्सिङ कम्पनी जुमले अमेरिमा परेको गोपनीयतासम्बन्धी मुद्दा सल्टाउन आठ करोड ६० लाख अमेरिकी डलर तिर्न सहमति गरेको छ ।
जुमविरुद्ध दशौँ लाख प्रयोगकर्ताको गोपनीयतामा खेलबाड गरेको र व्यक्तिगत विवरणहरु सामाजिक सञ्जाल कम्पनी फेसबुक, गुगल र लिंक्ड इनसँग बाँडेको आरोपसहित अमेरिकामा मुद्दा परेको थियो । यसबाहेक कम्पनीले एन्ड–टु–एन्ड इनक्रिप्सन रहेको भनी झूटो कुरा व्यक्त गरेको र ह्याकरबाट जोगाउन नसकेको आरोप लागेको थियो ।
जुमले भने ती आरोप अस्वीकार गर्दै कुनै पनि गलत कार्य नगरेको दाबी गरेको थियो । यद्यपि कम्पनी सुरक्षा बढाउन सहमत भएको बीबीसीले जनाएको छ । मुद्दा सल्टाउने सहमतिसँगै जुमले तथ्यांक व्यवस्थापन र गोपनीयतामा आफ्ना कर्मचारीलाई विशेष तालिम दिने भएको छ । प्रारम्भिक रुपमा सहमति भए पनि क्यालिफोर्नियाको सान जोसेस्थित अमेरिकी जिल्ला न्यायाधीश ल्युसी कोबाट प्रमाणीकरण हुन बाँकी रहेको बताइएको छ ।