दोलखा । स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले एकपछि अर्को युनिटबाट सफलतापूर्वक विद्युत् उत्पादन गर्न सफल भएको छ । आयोजनाले छ युनिटमध्ये चारवटा युनिटबाट विद्युत् उत्पादन गर्न सुरु गरेको हो । चार सय ५६ मेगावाटको यस आयोजनाले छवटा युनिटबाट विद्युत् उत्पादन गर्नेछ ।
असार अन्तिमबाट पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको आयोजनाले एक महिनाको अन्तरमा चौथो युनिटबाट विद्युत् उत्पादन गर्दै कुल उत्पादन तीन सय चार युनिटमा विकास गरेको छ । यस आयोजनाको प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । चारवटा युनिटबाट उत्पादित तीन सय चार मेगावाट विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । आगामी भदौ मसान्तभित्रमा सबै युनिटबाट ७६ मेगावाटका दरले चार सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाको चौँथो युनिटको ७६ मेगावाट विद्युत् सोमबार दिउँसोबाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो । यद्यपि उत्पादन थालिएको युनिट पूर्ण क्षमतामा चल्न अझै दुईदेखि तीन दिन लाग्ने आयोजनाका एक प्राविधिकले बताए ।
उनका अनुसार बाँकी रहेका दुई युनिट पनि दुई साताको फरकमा प्रणालीमा ल्याउने गरी काम भइरहेको छ । गत असार २१ गते आयोजनाको पहिलो युनिट प्रसारण प्रणालीमा जोडिएको थियो । पहिलो युनिटबाट उत्पादन सुरु भएको एक सातापछि नै असार २९ गते दोस्रो युनिट पनि सञ्चालनमा आएको थियो । तेस्रो युनिट साउन ८ गतेदेखि सञ्चालनमा आएको हो । पाँचौं युनिटबाट बढीमा अबको २ सातामा उत्पादन सुरु गर्ने आयोजनाको योजना छ । सञ्चालनमा आइसकेका युनिटको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन जोडिएको छ ।
यता आयोजनाको जिल्ला दोलखामा भने हिजोआज दैनिक हुने बिद्युत अबरुद्धले यहाँका नागरिकले सास्ती खेपिरहेका छन् । दैनिक बिद्युत अबरुद्ध हुने गरेको भन्दै मंगलबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दोलखाले बिधुत प्राधिकरण दोलखाको ध्यानाकर्षण समेत गराएको छ । साँझ पर्न साथ जिल्लाको सदरमुकाम चरिकोट र ग्रामीण बस्तीमा पटकपटक बत्ती अबरुद्ध हुने गरेको छ । उक्त समस्या तत्काल समाधान गर्न माओवादी नेताहरूले प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।