काठमाडौं । निर्वाचन आयोगले ‘नेपालको निर्वाचन इतिहास—२’ र ‘निर्वाचन प्रश्नोत्तर’ नामक दुईवटा पुस्तक प्रकाशित गरेको छ । उक्त पुस्तकको बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले संयुक्तरूपमा विमोचन गरेका थिए ।
उक्त पुस्तक विमोचन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले दुवै प्रकाशनहरू आयोगका ऐतिहासिक दस्ताबेज भएको बताए । निर्वाचनसम्बन्धी विषयका अध्येता, शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता, संघसंस्था, आम नागरिकलगायत निर्वाचनका सबै सरोकारवालाका लागि यी प्रकाशनहरू बहुउपयोगी हुने उनको भनाइ थियो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी बनाउन निर्वाचनसँग सम्बन्धित विषयहरूका बारेमा आम नागरिकलाई जानकारी एवं सुसूचित गराउनु निर्वाचन आयोगकोे दायित्व भएको उनले बताए ।
नेपालको निर्वाचन इतिहास–२ पुस्तकमा विसं २०७४ सालमा सम्पन्न भएका स्थानीय तह, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, राष्ट्रियसभा सदस्य, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका साथै विसं २०७६ सालमा सम्पन्न सबै तहका उपनिर्वाचनलगायतका विषयहरू समेटिएका छन् । यस पुस्तकमा नौवटा खण्ड र ७७ वटा परिशिष्ट रहेका छन् । यसमा निर्वाचनसम्बन्धी कानुनी व्यवस्था, निर्वाचनसँग सम्बन्धित ऐन÷कानुन, निर्वाचनमा जनशक्ति व्यवस्थापन, तालिम, निर्वाचन पर्यवेक्षण, सूचना प्रविधि एवं प्रणाली व्यवस्थापन, निर्वाचन विवाद र त्यसको निरूपणजस्ता पक्षहरू समावेश गरिएका छन् ।
निर्वाचन सञ्चालन तथा व्यवस्थापन एवं निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न प्रश्न र तिनका उत्तरहरू समावेश गरिएको ‘निर्वाचन प्रश्नोत्तर’मा १० वटा परिच्छेदअन्तर्गत जम्मा ६८० वटा प्रश्न र तिनका उत्तर समावेश गरिएको छ । यसमा निर्वाचन इतिहास, लोकतन्त्र, निर्वाचन र निर्वाचन प्रणाली, संविधान, निर्वाचन कानुन र निर्वाचन विवाद निरूपण, निर्वाचन आयोग, राजनीतिक दल दर्ता र नियमन, मतदाता दर्ता, मतदाता नामावली र मतदान परिचयपत्र, निर्वाचन व्यवस्थापन, राजनीतिक वित्त र निर्वाचन खर्च, निर्वाचनमा प्रविधि र आम सञ्चारलगायत निर्वाचनका विविध पक्षहरू समावेश छन् ।
कार्यक्रममा आयोगका सचिव सुरेश अधिकारीले उल्लिखित पुस्तकहरूमा भएका विषयका सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए । आयोगमा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा विभिन्न संवैधानिक आयोग र नेपाल सरकारका मन्त्रालयका प्रतिनिधिहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरू, विकास साझेदार संस्थालगायत संस्थाका प्रतिनिधिहरू, आयोगको सचिवालयका कर्मचारीहरू तथा निर्वाचनका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।