काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटमा उनले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् ।
नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारीसाधन आयातमा करछुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए । उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गता भएकाहरुको लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् ।
प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने मन्त्री शर्माले आश्वासन दिएका छन् । उनले घाइते तथा अपाङ्गता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको समेत जानकारी दिएका थिए ।