काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछा कृषकहरूलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
सम्झौतामा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले सम्झौता गरेका हुुन् ।
यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडले माछापालक कृषकहरूलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरू आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरू सहज रूपमा उपलब्ध गराउनेछ ।
हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगाले माछापालक कृषकहरूलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । बैंकले आगामी पाँच वर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।
बैककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरू सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताइन् । बैंकले आम नागरिकहरूलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै सीईओ खुञ्जेलीले माछापालक किसानहरूलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताइन् ।
यसैगरी, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरू हर्षित भएको बताए । यसैगरी आज मात्रै बैंकले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ कारोबारको शुभारम्भ समेत गरेको छ ।