अमेरिका। माइक्रोसफ्ट कम्पनीका संस्थापक अर्बपति बिल गेट्सले यौनिक अपराधमा संलग्न आरोपमा हिरासत पुगेका जेफ्रे एप्स्टेनसँगको भेटघाटबारे आफूलाई पछूतो भएको बताएका छन् । बालबालिकालाई यौनजन्य धन्दामा लगाएको आरोप लागेका धनी वित्तीय प्रबन्धकलाई भेट गर्नु र समय बिताउनु गल्ती रहेको गेट्सले अमेरिकी केबल न्युज नेटवर्कसँगको कुराकानीमा खुलासा गरेका हुन् ।
‘ऊसँग समय बितााउनु र उसलाई विश्वसनीय देखाउने अवसर दिनु मेरो ठूलो गल्ती थियो’, गेट्सले सीएनएनसँग भने । एप्स्टेनसँग भेट्नुको उद्देश्य विश्व स्वास्थ्य समस्यासँग जुध्न धेरै रकम संकलन गर्नुमात्रै भएको उनको भनाइ छ । एप्स्टेनसँग धेरैपटक आफूले सहभोज गरेको र एप्स्टेनले उक्त समस्या समाधानका लागि धेरै सम्पर्क गराइदिने आशामा उनीसँग भेटेको गेट्सको स्पष्टीकरण छ ।
सन् २०१९ जुलाईमा अमेरिकी संघीय अभियोजनककर्ताले न्युयोर्कमा एप्स्टेनविरुद्ध यौनिक अपराधमा मुद्दा चलाएका थिए । त्योसँगै एप्स्टेनले धेरै किशोरीमाथि यौनिक अपराध गरेको खुलेको थियो । सन् २००८ मा पनि एप्स्टेनविरुद्ध झण्डै झण्डै मुद्दा चलिसकेको थियो । तर सम्झौता भयो । त्यतिबेला आफ्ना अपराध स्वीकारेका एप्स्टेनविरुद्ध वेश्यावृत्ति मुद्दामा १३ महिनामात्रै जेल गएका थिए । पटक पटक यौनिक अपराधमा संलग्न उनी त्यसबाट बच्न पैसाको प्रयोग गर्थे ।
सन् २०१९ अगस्टमा एप्स्टेन न्युयोर्कको जेलभित्रै मृत फेला परेका थिए । जेलमा उनी झुण्डिएर आत्महत्या गरेको न्युयोर्कका सरकारी अधिकारीले जनाएका थिए । गेट्सले एप्स्टेनसँगको सम्बन्धकै कारण पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग डिभोर्स हुनपुगेको भन्ने समाचारबारे केही प्रतिक्रिया दिएनन् । पूर्वपत्नी मेलिन्डा र बिलको नाममा सामाजिक संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन रहेको छ । अझै केही वर्ष उनीहरुले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।