काठमाडौं । सिन्धुपाल्चोकका पहिरोपीडितहरुले मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न माग गरेका छन् । सिन्धुपाल्चोकमा यो वर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरुलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आफ्नो माग तत्काल सम्बोधनको लागि विशेष पहल गरिदिन आग्रहसहित ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षतिसम्बन्धी प्रारम्भिक प्रतिवेदनसहितको पत्रमा पुल, विद्युत्, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधारभूत खानेपानी मर्मत गरी खानेपानीको आधारभूत व्यवस्थान, नदी तटीय क्षेत्रका बस्तीहरु स्थानान्तरण गर्न अस्थायी आवास निर्माण सामग्रीको उपलब्धतालगायतका विषय समेटिएका छन् । ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए ।
गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् व्यवस्थापन क्षेत्रका विज्ञहरु, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीहरुसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिए । उनले साउन १४ गते गृहमन्त्री बालकृष्ण खाणसँग तत्काल दुईवटा बेलिब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल गरेको बताए ।
सभामुख सापकोटाले शुक्रबार ऊर्जामन्त्री पम्फा भुसालसँगको भेटमा पनि बाढी पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्ने विषयमा छलफल भएको जानकारी गराउँदै छिट्टै सेवा सुचारु हुने विश्वास व्यक्त गरे । सो क्षेत्रमा बाढी, पहिरोबाट पीडितहरुलाई सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा सर्वपक्षीय सहभागितासहित ‘इन्द्रावती, मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको थियो ।