नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छ । शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको संख्यामा कमी देखिएको हो ।
शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार छ सय २८ जना नयाँ संक्रमित थपिएका छन् । जवकी शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार छ सय ४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो ।
सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाको संख्या घटेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कूल संख्या चार लाख १२ हजार एक सय ५३ रहेको छ । जब कि अघिल्लो दिन चार लाख १४ हजार एक सय ५३ रहेको थियो ।
सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड १८ लाख ९५ हजार तीन सय ८५ पुगेको छ । तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामै रहेका छन् । संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये छ सय १७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार एक सय ३८ जनालाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको संख्या ५० करोड १० लाख नौ हजार छ सय नौ पुगेको छ । रासस/एएनआई