वासिङटन । अमेरिकामा जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको तथ्यांक सार्वजनिक भएको छ । महामारीका कारण उद्योगहरूले गरेको कष्टकर संघर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका छन् ।
केही अर्थशास्त्रीहरू महामारीका कारण अझै पनि लाखौं रोजगारीका अवसरहरू स्थापित हुन नसकेको बताइरहेका समय अमेरिकी श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकले भने बेरोजगारीको दरमा आधा अंकले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियनत्रणको बाटोमा ल्याइएको सरकारको दावी छ । आर्थिक गतिविधि सामान्य हुन थालेपछि काममा जोडिने क्रमले गति लिन थालेको छ । तर अर्थतन्त्र महामारी पूर्वको स्तरभन्दा रोजगारीको संख्या अझै ५७ लाख कम रहेको छ ।
गैर–कृषि क्षेत्रमा रोजगारीका अवसरहरू अझै पूर्ववत अवस्थामा आउन नसकेको बताइएको छ । पर्यटन क्षेत्रमा खासै सुधार नदेखिएको भएपनि कृषि तथा सार्वजनिक शिक्षा क्षेत्रमा रोजगारीको दर क्रमशः तीन लाख ८० हजार र दुई लाख २० हजारले बढेको छ ।
अश्वेत कामदारहरूको रोजगार दर अघिल्लो महिनाबाट घटेर ८.२ प्रतिशत पुगेको छ यद्यपि श्रम शक्तिको सहभागितामा गिरावट चिन्तित देखिएको छ । ‘श्रम बजारमा पूर्णतया सुधार देखिएको छैन भन्ने अर्को संकेत अमेरिकामा अझै ४५ लाख मानिसहरू आंशिक समय काम गरिरहेको अवस्थाबाट थाहा हुन्छ, पूर्ण–समय काम पाउन सक्ने अवस्था अझै बन्न सकेको छैन’, रिपोर्टमा भनिएको छ ।
जुलाईमा निर्माण क्षेत्रमा ११ हजार उत्पादन क्षेत्रमा २७ हजार रोजगारीका अवसर थपिएका छन् । प्रप्त पछिल्लो तथ्यांक अनुसार राष्ट्रव्यापी रूपमा प्रतिघण्टा औसत आय ११ सेन्टबाट ३०.५४ अमेरिकी डलर पुगेको छ ।
५० प्रतिशतलाई पूर्ण खोप : अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् ।
पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ । दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले जनाएका छन् । खोप लगाउनेको संख्या तीव्ररुपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन् । अपेक्षितरुपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विशेष अनुरोध गर्दै आएको छ ।
खोप लगाउनेको संख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेजसमेत ल्याएको छ । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो । कोरोनाभाइरसका विभिन्न भेरिएन्टको महामारीका कारण अमेरिकामा अहिलेसम्म तीन करोड ६४ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यसैगरी छ लाख ३२ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।