काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरूको लागि नेपाली सेनाले अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ लिदीमा २०७७ साउन ३० गते गएको पहिरोको कारण विस्थापित भएका परिवारहरूको लागि नेपाली सेनाले सोही गाउँपालिका वडा नं. १, बासखर्कमा ३१ अस्थायी आवास भवन, ७ शौचालय, १ बाथरुम, १ क्यान्टिन र १ हेल्थ पोष्टको भवन निर्माण गरेको थियो ।
उक्त अस्थायी भवनको आइतबार एक कार्यक्रमका बीच श्री नं.२६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरूलगायत पत्रकारहरूको समेत उपस्थिति रहेको थियो । उक्त पहिरोमा परी ३९ जनाको मृत्यु भएको थियो भने २८ घर–परिवारहरू पूर्णरूपमा विस्थापित भएका थिए ।
विस्थापित भएकाहरूलाई पहिलो चरणमा आवास उपलब्ध गराउने र जोखिममा रहेका अन्यलाई क्रमशः अस्थायी घरहरू बनाउने योजनाअनुसार जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट नेपाली सेनासँग सहयोगको लागि लिखित अनुरोध भएअनुरूप ‘जनताका साथ नेपाली सेना, बासखर्क आवास परियोजना’ निर्माणको पहिलो चरणको कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ । उक्त आवास निर्माणबाट विपद्का कारण बिस्थापित भई करिब एक वर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारको लागि राहत प्रदान गर्ने सत्कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको सेनाले जनाएको छ ।