अमेरिका । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले अमेरिकाका आफ्ना कर्मचारी (कर्पोरेट स्टाफ) लाई कार्यालय आउने समय थप ढिलाइ गरेको छ । कम्पनीले कर्मचारीलाई सन् २०२२ को जनवरी ३ सम्म कार्यालय आउनु नपर्ने बताएको हो ।
यसअघि कम्पनीले आगामी सेप्टेम्बर ७ पछि कार्यालयमै उपस्थित हुनुपर्ने बताएको थियो । अमेरिकामा पछिल्लो समय फेरि कोरोना संक्रमण दर बढ्नथालेपछि कम्पनीले यस्तो निर्णय लिएको हो । अमेजनबाहेक वेल्स फार्गो र ब्ल्याकरकले पनि कर्मचारीलाई कार्यालय आउन ढिलाइ गर्ने बताएका छन् ।
अमेजनको पछिल्लो निर्णय कर्पोरेट र प्राविधिक कर्मचारीको हकमा लागू हुनेछ । गोदाम र डेलिभरी गर्ने कर्मचारीहरुको हकमा यो नियम लागू नहुने बताइएको छ । अमेरिकाको ठूलो बैंक वेल्स फारगोले यसअघि सेप्टेम्बर ७ पछि कार्यालयमै आउनुपर्ने बताएकोमा अब अक्टोबर ४ सम्म आउनु नपर्ने बताएको छ । बैंकका दुई लाख ६० हजार कर्मचारी छन् ।