अमेरिका । अमेरिकाको दोस्रो ठूलो सेयरबजारले आफूमा सूचीकृत भएका कम्पनीहरुलाई नयाँ नियम लिएको छ । नास्डाकले सूचीकृत कम्पनीहरुलाई लैंगिक र विविधतासम्बन्धी नियम ल्याएको बीबीसीले उल्लेख गरेको छ ।
नास्डाकमा एप्पल, टेस्लाजस्ता विश्वप्रसिद्ध प्रविधि कम्पनीहरु सूचीकृत छन् । यी कम्पनीहरुले अब नयाँ नियमअनुसार कम्तीमा दुई विविधता झल्किने निर्देशक राख्नुपर्नेछ अथवा उनीहरु नहुनाको कारण पेस गर्नुपर्नेछ ।
दुई निर्देशकहरुमध्ये पनि एउटा महिला नै र अर्को पछाडि परेको समुदायको प्रतिनिधित्व हुने वा महिला र पुरुषबाहेक अन्य लैंगिक समुदायको प्रतिनिधित्व हुने हुनुपर्नेछ । कर्पोरेट अमेरिकामा विविधता नदेखिएको भन्दै यस्तो नियम लागू गरिएको हो ।
गत वर्षको नास्डाकको अध्ययनले यसमा सूचीकृत ७५ प्रतिशतभन्दा धेरै कम्पनीले आफ्नो प्रस्तावित लक्ष्य नभेट्टाएको देखाएको थियो । वित्तीय बजार नियमन गर्ने द यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले शुक्रबार उक्त नियम बाध्यकारी हुने जनाएको छ । त्यस्तै कम्पनीहरुले विविधतायुक्त बोर्डको तथ्यांक सार्वजनिक नै गर्नुपर्नेछ ।
न्युयोर्कमा रहेको नास्डाक इन्डेक्सले ३३ सय कम्पनीको सेयर नियमन गर्छ । बजार पुँजीकरणका हिसाबले यो अमेरिकाको दोस्रो ठूलो सेयरबजार हो । पहिलो नम्बरमा भने न्युयोर्क स्टक एक्सचेन्ज रहेको छ । नास्डाकको यस्तो निर्णयको सत्तारुढ दल डेमोक्रेटिक पार्टीका नेताहरुले प्रशंसा गरेको बताइएको छ ।