सिंगापुर । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले बलात्कार आरोप लागेका मेनेजरलाई हटाउने भएको छ । कम्पनीले यसबारे आफ्ना कर्मचारीलाई पत्र पठाउँदै जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । कम्पनीका प्रमुख कार्यकारी ड्यानियल झांगले उक्त घटना आरोपमा कदम नचाल्ने अरु दुई जनाले राजीनामा दिएको उल्लेख गरेका छन् । अलिबाबाले यस सम्बन्धमा प्रहरीसँग सहकार्य गरिरहेको छ ।
एक महिला कर्मचारीले उनका पुरुष मालिकले मद्यपान गरेपछि आफू बेहोसी अवस्थामा हुँदा होटलको कोठामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनको आरोपसँगै चिनियाँ सामाजिक सञ्जालमा यो प्रकरण धेरै सेयर गरिएको छ । आरोपी मेनेजरले पनि घटनाबारे स्वीकार गरेको झांगले बताएका छन् । कर्मचारीलाई पठाइएको पत्रमा ती मेनेजरलाई बर्खास्त गरिने र कहिल्यै फेरि काममा नफर्काउने उल्लेख गरिएको छ । ती मेनेजरले बलात्कार वा खराब क्रियाकलाप गरेकोबारे कानुन उल्लंघन भए/नभएको जाँँच सरकारी अधिकारीले गर्ने उल्लेख गरिएको छ ।
सोही पत्रमा अलिबाबाले ती महिलालाई राम्रो व्यवहार र रेखदेख गर्ने पनि उल्लेख गरेको छ । आइतबार जिनान सहरको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । ती महिलाले ११ पेजको घटना विवरण सेयर गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको बताइएको छ । ती महिलाले आफू क्लाइन्टसँगको भेटघाटका क्रममा जिनानको यात्रामा रहँदा उक्त मेनेजरले यौन दुव्र्यवहार गरेको बताएकी छिन् । यो ठाउँ अलिबाबाको हांग्झोउस्थित मुख्य कार्यालयबाट नौ सय किमि टाढा रहेको छ ।