काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैँसेपाटीमा पनि शाखा खोलेको छ । बैंकले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि भैँसेपाटी, ललितपुरमा आफ्नो एक सय चारऔँ शाखा सोमबार उद्घाटन गरेको हो । केशवराज पौडेल (सहायक महाप्रबन्धक) एभरेष्ट बैंक र पुरुषोत्तम खड्का (वडा अध्यक्ष, वडा न. १८) ललितपुर महानगरपालिकाले संयुक्तरूपमा भैँसेपाटी, ललितपुर शाखाको उद्घाटन गरेका छन् ।
उक्त उद्घाटन समारोहमा निरुजङ थापा, वरिष्ठ उपाध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ, लोकबहादुर गुरुङ, भैँसेपाटी क्षेत्र इन्चार्ज, नेपाल प्रहरी, सन्तोष भट्टराई, प्रादेशिक प्रबन्धक, एभरेष्ट बैंक बागमती प्रदेश, पुष्पराज उप्रेती, बजार विभाग प्रमुख, एभरेष्ट बैंक साथै अन्य स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको एभरेष्टमा हाल ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय चारऔँ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३६ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।