काठमाडौं । ग्लोबल आईएमई बैंकले सरल किस्ताबन्दीमा ल्यापटप योजना सार्वजनिक गरेको छ । बैंक र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरूलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौतामा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौँ टेम्पल पिसको तर्फबाट सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदिप न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत रही लियो क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रे जिल्लामा अध्यापनरत शिक्षकहरूलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेछ । उक्त प्रक्रियामा शिक्षकहरूले ग्लोबल आईएमई बैंकको क्रेडिट कार्ड लिएर ‘इजी बाई इजी पे’मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सक्नेछन् । यसका साथै बैंकले काभ्रेका शिक्षकहरूका लागि बैंकिङ साक्षारतासम्बन्धी कार्यक्रम समेत आयोजना गर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८० शाखा, दुई सय ४८ एटीएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।