काठमाडौं । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौंको ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल, तनहुँको भिमाद १ घर भई हाल काठमाडौंको गोगंबु बस्ने वर्ष २५ वर्षीय रितेश श्रेष्ठ, रामेछाप देउराली २ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खडका र काठमाडौंको जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाईं रहेका छन् ।
यही साउन २५ गते ११ः३० बजेको समयमा का.जि. का.म.न.पा.वडा नं. २२ गणबहाल इलाकामा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा तत्काल परिसरबाट विशेष प्रहरी टोली परिचालन गरी खोजतलास गर्दा तनुज इन्टरप्राइजेज प्रालि गणबहालस्थित चेकजाँच गर्दा सञ्चालक तरुण अग्रवालसहित चार जनाको साथबाट हुन्डीको कारोबारी (समानान्तर बैंकिङ कारोबार) गरिरहेको अवस्थामा ९१ लाख ९६ हजार रुपैयाँ रकम तथा १७ थान चेक, डिपोजिट स्लिप थान आठसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई महानगरीय परिसर काठमाडौंबाट थप अनुसन्धानपश्चात् आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
सुनसहित १ जना पक्राउ : सुनका तीन थान बालासहित एयरपोर्टबाट एक जना पक्राउ परेका छन् । मंगलबार बिहान रामेछाप रस्नालु गा.वि.स. स्थायी वतन भई हाल का.जि. का.म.न.पा. वडा नं. ०६ कुमारीगल बौद्ध बस्ने वर्ष २५ को सन्तोष बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई शंकास्पद अवस्थामा उभिएकोमा निगरानी गर्दा उक्त सामान बरामद भएको एयरपोर्ट प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बस्नेतले जजिरा एयरलाइन्सको (बिहान ल्यान्ड भएको) उडानद्वारा साउदीबाट काठमाडौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई ल्याउन लाएको सुनका बाला तीन थान गरी कुल तौल एक सय ५० ग्राम अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सुनको बालासहित उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरन पठाइएको प्रहरीले जानकारी दिएको छ ।