काठमाडौं । विश्व स्वास्थ्य संगठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर र अत्यावश्यक मेडिकल सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरेको छ । विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयले कोभिड–१९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको निरन्तर सहयोगअनुसार १८ लाख अमेरिकी डलरबराबरको अत्यावश्यक औषधि र सामग्रीहरु मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भएको कार्यक्रममा दुई लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, २ हजार अक्सिजन कन्सन्ट्रेटरहरु, २४ हजारवटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्यानुला, छ लाख मास्क र पाँच लाख सर्जिकल ग्लोब्ससहितका सामग्रीहरु विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढेको अवस्थामा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको डा. राजेश पाण्डवले बताए । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ गम्भीर बिरामीहरुको उपचार र व्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ ।
कोभिड–१९ को दोस्रो लहरसँगै नेपालले कोभिडका गम्भीर बिरामीहरुको उपचारमा प्रयोग हुने औषधि डेक्समेथाजोनलगायत अत्यावश्यक मेडिकल सामग्रीहरुको अभाव खेप्नुपरेको थियो । अक्सिजन थेरापी लिइरहेका, आईसीयू भर्ना भएका वा भेन्टिलेटरमा रहेका बिरामीहरुलाई डेक्सामेथाजोन औषधि अत्यावश्यक छ । त्यसैगरी, पर्याप्त अक्सिजन आपूर्तिको कमी अर्को प्रमुख चुनौती थियो ।
विश्व स्वास्थ्य संगठनबाट सहयोगस्वरुप प्रदान गरिएका दुई हजार अक्सिजन कन्सन्ट्रेटरहरु आवश्यक स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन सहयोगी बन्नेछन् । श्वासप्रश्वासमा कठिनाइ भएका वा अक्सिजनको मात्रा एकदमै कम भएका बिरामीहरुलाई आवश्यक मात्रामा अक्सिजन पु¥याउन अक्सिजन कन्सन्ट्रेटरहरु प्रयोग गरिन्छ । अक्सिजन कन्सन्ट्रेटर र डेक्सामेथाजोन दुवैले हजारौँ मानिसहरुको जीवन बचाउन सकिने अपेक्षा गरिएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनलाई धन्यवाद दिए । महामारीको सुरुदेखि नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड–१९ प्रतिकार्यमा विभिन्न खालको सहयोग प्रदान गर्दै आइरहेको उनले बताए । अहिले प्राप्त भएको यति धेरै अक्सिजन कन्सन्ट्रेटरहरु र अन्य मेडिकल सामग्रीहरुले कोभिड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन आवश्यक स्रोत साधनको परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । अब यी सामग्रीहरुको आवश्यकता भएका देशभरिका दूरदराज गाउँठाउँमा पु¥याउन मन्त्रालयले काम थाल्ने उनको भनाइ थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजनाअनुसार स्वास्थ्य सामग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साताभित्र सुरु गर्ने लक्ष्य लिएको छ । महामारीको सुरुवातदेखि नै कोभिड–१९ को प्रतिकार्य गर्न विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्दै आइरहेको छ । विश्व स्वास्थ्य संगठनले ल्याबको क्षमता विकास, दक्ष जनशक्तिहरुको क्षमता विकास, नीति र निर्देशिकाहरुको निर्माणलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको जनाएको छ ।