चीन । चिनियाँ स्वशासित क्षेत्र तिब्बतले ल्हासा गोनगार विमानस्थलमा टर्मिनल ३ निर्माण गरी सेवा सञ्चालन खुल्ला गरेको छ । टर्मिनल ३ नयाँ निर्माण गरिएको ग्लोबल टाइम्सले जनाएको छ । शनिबारदेखि टर्मिनल खुलेसँगै दक्षिण एसियालाई यात्रु र कार्गो सेवाको ग्लोबल लजिस्टिक हब (विश्व आतिथ्यको मुख्य क्षेत्र) बनाउन सहयोग पुग्ने विज्ञहरुले बताएका छन् ।
नयाँ टर्मिनलसँगै यो विमानस्थलले वार्षिक ९० लाख यात्रु र ८० हजार मेट्रिक टनसम्मको कार्गो व्यवस्थापन गर्न सक्नेछ । योसँगै तिब्बतका सबै विमानस्थलको यात्रुप्रवाहको ७५ प्रतिशत बढी यसैले ह्यान्डलिङ गर्न सक्ने विमानस्थलले जनाएको छ । तीन वर्षअघि विमानस्थल विस्तारको योजना कार्यान्वयन सुरु भएको थियो । यसअनुसार ८८ हजार वर्गमिटर टर्मिनल विस्तार भएको छ । जुन मुख्य टर्मिनलको आकारभन्दा तीन गुणा धेरै हो । यसमा २१ स्ट्यान्ड पार्किङ एप्रोन छन् भने सपोर्टिङ एयर ट्राफिक कन्ट्रोल फ्यासिलिटी र नयाँ सञ्चारततथा एयरफ्रेट फ्यासिलिटी रहेका छन् ।
सन् २०१७ डिसेम्बरमा सुरु भएको एयरपोर्ट विस्तारमा ६० करोड ३० लाख अमेरिकी डलर लगानी गरिएको छ । पछिल्ला वर्षमा तिब्बतमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । त्यसमा हवाइ, रेलवे र हाइवे सडक परियोजना समावेश छन् । तिब्बतमा चीनले सन् २०१२ यता पूर्वाधार लगानीलाई बढावा दिँदै आएको छ । तिब्बतमा १३० एयर रुट छन् भने ६१ सहरहरु उडानबाट जोडिएको सिन्ह्वाले जनाएको छ ।