इभिया (ग्रिस) । ग्रिसको इभिया टापुको जङ्गलमा लागेको भीषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरु दिनरात सक्रिय रुपमा लागेका छन् । इभिया टापुमा एक सातादेखि भीषण आगलागी भइरहेको छ । डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् । ग्रिसको सरकारी टेलिभिजन टिभी अर्टले प्रसारण गरेका दृश्यहरु निकै भयानक देखिएका छन् । यी दृश्यमा अग्निनियन्त्रकहरु र स्वयंसेवीहरु इस्टानिया सहर नजिकैको एउटा ठूलो रुखको आड लिएर निरन्तर आगो निभाउने कार्यमा खटिएको देखाइएको छ ताकि त्यस ठाउँबाट डढेलो गाउँतिर फैलन नपाओस् ।
त्यस रुखको नजिकै एउटा विशाल आगोको ज्वाला देखिएको छ । डढेलो निरन्तर अघि बढेको भन्दै स्थानीय अधिकारीहरुले एभ्गारिया गाउँका बासिन्दालाई अन्यत्र जान आग्रह गरेको छ । तर धेरैजसो स्थानीयबासी अटेर गरी आफ्नै घरमा बस्न जिद्दी गरिरहेको एक स्थानीय अधिकारीले बताए । मध्यग्रिसका गभर्नर फानिस स्पानोसले धेरैजसो गाउँबासीहरु अन्यत्र स्थानान्तरित हुन इच्छुक भए पनि केहीले आगो निभाउने कार्यमा सेवा गरिरहेको बताए । स्पानोसले स्थानीयबासीको सहयोगका कारण धेरै गाउँ डढ्नबाट जोगिएको बताए ।
डढेलोका कारण इभिया, अथेन्स र ग्रिसका अन्य भागका सयौं घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो रोकिने अझै सम्भावना देखिएको छैन । आगोबाट बच्न हजारौं मानिस अन्यत्र पलायन भएका छन् । सोमबार, आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा मागेका छन् र जिम्मेवार व्यक्तिलाई दण्ड दिइने बताएका छन् ।
राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगत रुपमा क्षमा माग्दछु, मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै बताए । ग्रिसका अधिकारीहरुका अनुसार इभियामा झण्डै छ सय ५० जना अग्निनियन्त्रकहरु अहिले आगो निभाउने कार्यमा खटिएका छन् । ग्रिसेली अधिकारीहरुले विषम तापमानका निम्ति जलवायू परिवर्तन मुख्य कारक रहेको बताएका छन् । राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तापमान वृद्धिले विगतमा सोचेभन्दा निकै बढी त्रास सिर्जना गरिरहेको जनाएको छ ।
गत साता अथेन्स नजिकै दुई व्यक्तिको मृत्यु भएको थियो । जसमा एक जना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए । अरु धेरै व्यक्ति धुँवा, पोलाई र चोटपटकका कारण अस्पताल भर्ना भएका छन् । देशका धेरै जना मेयरले आगो निभाउन हेलिकप्टरजस्ता साधनको प्रयोगमा हेलचेक्रयाई भएको आरोप लगाएका छन् । विपक्षी दलका नेता अलेक्सिस चिप्रासले ट्वीट गर्दै स्थानीय अधिकारीहरु र नागरिकहरु एक्लो भएको बताएका छन् । उनले सरकारले पर्याप्त सहयोग नगरेका कारण वनक्षेत्र तहसनहस भएको बताए ।
विपक्षी नेता चिप्रासको भनाईको प्रत्यूत्तर दिँदै प्रधानमन्त्री मिचोटाकिसले हालैमात्र पाँच सय ८० भन्दा बढी स्थानबाट आगो सुरु भएको बताए । ग्रिसमा यति भयानक परिस्थिति कहिल्यै सिर्जना नभएको पनि बताए । अभूतपूर्व तातो हावा र लामो सुख्खालाई नियन्त्रणमा ल्याउन त्यति सम्भव थिएन, प्रधानमन्त्रीले भने । नागरिक सुरक्षा उपमन्त्री निकोस हार्डालियासले आगो निभाउन पानी बोक्ने हेलिकोप्टरहरुले पनि अनेक समस्या झेल्नु परिरहेको बताए । उनले हावाको तीव्र वेग, बाक्लो धुँवा र सीमित दृश्यताको कमी समेतका समस्या देखिएको बताए ।
युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रिसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार छ सय ५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ । नागरिक सुरुषा अधिकारीहरुका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रिसको आगालागि नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, दुई सय ५० वटा सवारीसाधन र एक हजार दुई सयभन्दा बढी अग्निनियन्त्रकहरु पठाएका छन् । रासस/एएफपी