लन्डन । साना भिडिओसम्बन्धी सामाजिक सञ्जाल कम्पनी टिकटक गत वर्ष सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ । डिजिटल विश्लेषक एप एनी कम्पनीका अनुसार सन् २०२० मा फेसबुकलाई उछिन्दै टिकटक सर्वाधिक डाउनलोड भएको हो ।
टिकटक भिडिओ सेयरिङसम्बन्धी चिनियाँ कम्पनी हो । धेरै डाउनलोड हुने पाँच उच्च एपमा फेसबुककै दबदबाका बीच टिकटक एक्लो कम्पनी बनेको बीबीसीले जनाएको छ । चीनमा टिकटककै मातृकम्पनी बाइटीडान्सको हालीमुहाली छ । त्यहाँ चिनियाँ भाषाको भिडिओ एप डाउयिन लोकप्रिय छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धको निर्णय गरेपछि अमेरिकामा टिकटकको लोकप्रियतामा कमी आउनुको साटो झनै बढेको देखिएको छ । सन् २०१८ यता गरिएको सर्वेक्षणमा फेसबुककै स्वामित्वका एपहरु धेरै लोकप्रिय रहँदै आएका छन् । अहिले पनि तालिकामा फेसबुककै दबदबा छ । फेसबुकको ह्वाट्स एप, मेसेन्जर, इन्स्टाग्राम निकै चर्चित एपहरु हुन् ।