अमेरिका । चर्चित अमेरिकी अर्बपति बिल गेट्सले थप दुई अर्ब अमेरिकी डलर बढीको सेयर पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सलाई बिहीबार ट्रान्सफर गरेका छन् । योसँगै बिलले मे महिनामा भएको सम्बन्धविच्छेदपछि कुल ६ अर्ब डलरको सेयर ट्रान्सफर गरेका हुन् ।
ब्लुमबर्गका अनुसार गेट्सको क्यास्केड इन्भेस्टमेन्टले अटोमोटिभ रिटेलर अटोनेसनको ३८ करोड ७० लाख डलर मूल्यबराबरको ३३ लाख कित्ता सेयर बिलकी पूर्वपत्नीलाई ट्रान्सफर गरेको छ । त्यस्तै माइक्रोसफ्टका सहसंस्थापक बिलले डिरी एन्ड कोको १ अर्ब डलर मूल्यबराबरको २८ लाख कित्ता सेयर पनि क्यास्केड इन्भेष्टमेन्टमार्फत मेलिन्डालाई ट्रान्सफर गरेका छन् ।
सोही दिन क्यास्केड इन्भेष्टमेन्टले क्यानडेली नेशनल रेलवेको १ अर्ब डलर मूल्यबराबरको ९५ लाख कित्ता सेयर ट्रान्सफर गरेको छ । बिल र मेलिन्डाको सम्बन्धविच्छेद वैधानिक रुपमै गत हप्ता सम्पन्न भएको थियो । मे महिनामा दुवैले सम्बन्धविच्छेद गर्ने घोषणा गरेको चार दिनपछि बिलले क्यास्केड इन्भेष्टमेन्टबाट ३ अर्ब डलर मूल्यबराबरको सेयर मेलिन्डालाई ट्रान्सफर गरेका थिए । त्यसमा अटोनेसनको २९ लाख कित्ता, क्यानडेली नेशनल रेलवेको एक करोड ४१ लाख कित्ता र मिडिया कम्पनी ग्रुप टेलिभिसाको २९ करोड ३५ लाख कित्ता सेयर समावेश थियो ।
दुई हप्तापछि बिलले डिरी एन्ड कोको ८५ करोड डलर मूल्यबराबरको सेयर मेलिन्डालाई ट्रान्सफर गरेको नियामक निकायमा पेस भएको कागजातले देखाएको छ । यो भनेको कम्पनीमा रहेको बिलको कुल सेयर स्वामित्वको ७ प्रतिशत हो । बिल र मेलिन्डाको कुल सम्पत्ति एक खर्ब ५२ अर्ब अमेरिकी डलर रहेको ब्लुमबर्गको अर्बपति सूचकांकले देखाएको छ । गत बुधबार बिलले पूर्वपत्नीसँग अझै सहकार्य गर्ने बताएका थिए ।