काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रदेश १ को औद्योगिक क्षेत्रमा एक खर्र्ब २८ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार प्रदेश १ को प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दे उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाले औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा एक दशमलव पाँच प्रतिशतले ह्रास भई एक खर्र्ब २८ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३ दशमलव दुुई प्रतिशतले बढेको थियो । कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तुसम्बन्धी उद्योगतर्फ सबैभन्दा बढी ३८ दशमलव छ र विद्युत, ग्यास तथा पानीतर्फ सबैभन्दा कम शून्य दशमलव छ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३० दशमलव आठ प्रतिशत रहेको छ । पछिल्लो छ महिनामा औद्योगिक कर्जाहरुमध्ये खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी पाँच दशमलव तीन प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी उद्योगमा प्रवाह भएको कर्जामा १९ दशमलव तीन प्रतिशतले ह्रास आएको प्रतिवेदनमा भनिएको छ ।
क्षेत्रगत कृषि कर्जाअन्तर्गत समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा भने २० दशमलव आठ प्रतिशतले वृद्धि भई ४० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस शीर्षकमा ३२ अर्ब १८ करोड कर्जा प्रवाह भएको थियो । समीक्षा अवधिको पुस मसान्तमा कुल कर्जा प्रवाहमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश नौ दशमलव छ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा आठ दशमलव आठ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा प्रवाहित विभिन्न शीर्षकका कृषि कर्जाहरुमध्ये कृषि तथा कृषिजन्य सेवामा सबैभन्दा बढी २९ दशमलव सात प्रतिशत र सबैभन्दा न्यूून सुर्ती शीर्षकमा शून्य दशमलव शून्य एक प्रतिशत कर्जा प्रवाह प्रतिवेदनमा उल्लेख छ । यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट विभिन्न जिल्लाहरुमा कृषि क्षेत्रसँग सम्बन्धित शीर्षकहरुमा प्रवाह भएको कर्जामध्ये सबैभन्दा बढी मोरङ जिल्लामा ३२ प्रतिशत र सबैभन्दा कम सोलुखुम्बु जिल्लामा शून्य दशमलव चार प्रतिशत रहेको छ ।
पछिल्लो छ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश १ मा प्रवाह भएको सहुलियतपूर्ण कर्र्जा ७१ दशमलव ६८ प्रतिशतले वृद्धि भई १६ अर्ब ८५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस शीर्षकमा सात अर्ब ४१ करोड कर्जा प्रवाह भएको थियो । यसैगरी प्रदेशमा आर्थिक वर्ष २०७७ पुस मसान्तसम्ममा वाणिज्य बैंकका छ सय ४१, विकास बैंकका एक सय ६७, वित्त कम्पनीका ४३ तथा लघुवित्त वित्तीय संस्थाका सात सय ३६ गरी जम्मा एक हजार पाँच सय ८७ शाखा सञ्चालनमा छन् । यसमध्ये मोरङमा सबैभन्दा बढी तीन सय ८१ तथा ताप्लेजुङमा सबैभन्दा कम ३३ शाखा सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रदेश १ मा संकलन गरेको कुल निक्षेप गत अवधिको असार मसान्तको तुलनामा १२ दशमलव दुई प्रतिशतले वृद्धि भई तीन खर्ब १२ अर्ब ८२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप सात दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार तथा रेमिट्यान्स आप्रवाहमा आएको वृद्धि, बैंकिङ सेवामा हुँदै गएको विस्तार, कोभिड १९ संक्रमणका कारण लगानीका क्षेत्रहरु खुम्चिएकोले बैंकहरुको निक्षेप परिचालनमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा असार मसान्तको तुलनामा १० दशमलव सात प्रतिशतले वृद्धि भई चार खर्ब १७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिको अन्त्यमा कर्जा निक्षेप अनुपात एक सय ३३ दशमलव तीन प्रतिशत रहेको छ भने अघिल्लो वर्ष यस्तो अनुपात एक सय ५५ दशमलव आठ प्रतिशत रहेको थियो । ऊर्जाको उपलब्धता सहज हुनथालेको, तोकिएका प्राथमिकता प्राप्त क्षेत्रहरुमा सहुलियतपूर्ण कर्जाको व्यवस्था, सडक सञ्जालमा भएको विस्तार आदि कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकोले कर्जा लगानीको माग बढ्ने देखिन्छ ।
समीक्षा अवधिमा विपन्न वर्ग कर्जा २९ दशमलव चार प्रतिशतले वृद्धि भई ३३ अर्ब आठ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ३४ प्रतिशतले नै वृद्धि भएको थियो । समीक्षा अवधिमा पुनर्कर्जा छ सय ४९ दशमलव तीन प्रतिशतले वृद्धि भई छ अर्ब ४७ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा एक सय ६९ दशमलव पाँच प्रतिशतले नै वृद्धि भएको थियो । समीक्षा अवधिमा प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलव दुई प्रतिशतले वृद्धि भई ८३ अर्ब ८१ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ३९ प्रतिशतले नै वृद्धि भएको थियो । समीक्षा अवधिमा एटीएम सख्ंया छ सय ४६ पुगेको छ । गत वर्ष यसको संख्या पाँच सय रहेको थियो ।
राष्ट्र बैंकका अनुसार प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्र्रवाह गरेको कर्जा १६ दशमलव नौ प्रतिशतले वृद्धि भई दुई खर्र्ब ४८ अर्ब ३७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ५९ दशमलव पाँच प्रतिशत रहेको छ । २०७७ पुस मसान्त सम्ममा कुल सेवा कर्जामध्ये थोक तथा खुद्रा व्यापार शीर्षकमा सबैभन्दा बढी थोक तथा खुद्रा विक्रेता शीर्षकमा एक खर्ब ४३ करोड र सबैभन्दा कम स्थानीय सरकार शीर्षकमा ४० करोड रुपैयाँ प्रवाह भएको छ ।