विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा विवादास्पद बन्दै आएका उद्योगी, पूर्वउद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री एवं यसअघिका प्रधानमन्त्री केपी ओलीका प्रमुख आर्थिक सल्लाहकार समेत रहेका मोतीलाल दुगडलाई कारबाही माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ ।
दुगड स्वयम् मन्त्री भएको समयमा आफैँले सञ्चालन गर्दै आएको कम्पनीले नै नेपाली बजारमा नुनको अवैध काराबार गरेको भन्दै उनीविरुद्ध राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दर्ता गराएको छ । नेपालमा नुन बिक्रीको लागि अनुमति नपाएको तत्कालीन मन्त्री दुगडको कम्पनी दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रीकल टेवल साल्टका नाममा आयोडिनयुक्त नुन बिक्री गरेको मञ्चले आफ्नो उजुरीमा जनाएको छ । मञ्चका अनुसार उक्त कम्पनीले एक सय ग्रामलाई ३५ रुपैयाँमा बिक्री गर्नेगरेको छ । दुगडले सत्ता र शक्तिका आढमा ऐन कानुनको धज्जी उडाउँदै खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति समेत नलिई नुन उत्पादन गरेर बजार पठाइएको मञ्चले दाबी गरेको छ ।
नेपालमा आयोडिनयुक्त नुनको उत्पादन, भण्डारण तथा बिक्री वितरणको लागि सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै अधिकार दिएको छ । तर तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री दुगडले प्रचलित नियम कानुनको उल्लंघन गरेको भन्दै प्रचलित कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता गरिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिए ।
अवैध रुपमा भएको नुन बिक्रीकाबारे गत वर्ष असोजमा नै तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराए पनि करिब ११ महिनासम्म कुनै कारबाही नभएपछि वर्तमान सरकारको ध्यानाकर्षण गराएको महर्जनले बताए । साथै नेपाल सरकारको प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि नबढाई अहिलेसम्म पनि उद्योगी दुगडको व्यवसायलाई साथ दिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उच्चपदस्थ कर्मचारीलाई समेत कारबाही गर्न माग गरिएको छ ।