काठमाडौं । कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी)सँग १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । उक्त सहुलियतपूर्ण ऋण लिनेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर समेत भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गर्न पुग्नेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेहुँदा यसले सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने बताइएको छ ।
कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताए । खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मदत पु-याउने उनले विश्वास व्यक्त गरे । खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एसियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । उनले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बंैकले पु¥याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए । यसबाहेक एसियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।