काठमाडौं । पर्यटकीय गन्तव्यमा अग्रपंक्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटनसँग सम्बन्धित विभिन्न छाता संगठनले सरकारसँग माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि पर्यटनसँग सम्बन्धित विभिन्न छाता संगठनले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरण निर्माण गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न समेत माग गरेका छन् ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), होटल संघ नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल एसोसिएसन अफ टुर अप्रेटर (नाटो, हिमालय उद्धार संघ (एचआरए)लगायतका १३ वटा पर्यटकीय संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी विभिन्न नौ बुँदे माग अघि सारेका हुन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई तत्काल लागू गर्नुपर्ने, कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारिन्टनमा बस्न नपर्ने तथा विमानस्थल र अन्य प्रवेशबिन्दुमा पीसीआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने, पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नका लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटल/एजेन्टमार्फत मात्र भ्रमण गर्न पाउने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।