काठमाडौँ । ठीक एक महिनाअघि सर्वोच्च अदालतको परमादेशमा नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निरीह पथतर्फ उन्मुख भएका छन् र एक महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन, प्रधानमन्त्रीको सचिवालय गठन गर्न समेत सकेका छैनन् । घरभित्र र बाहिरको दबाबका कारण प्रधानमन्त्री देउवा निरीह पथतर्फ उन्मुख भएका छन् ।
प्रधानमन्त्री देउवाको स्वकीय सचिवालय गठनको विषय सडकमा छताछुल्ल भएको छ । प्रधानमन्त्री निवासभित्रै सचिवालय गठनको विषय विवादमा परेका बेला प्रधानमन्त्रीको प्रेस सल्लाहकार सडकमै भेटिएको तरंग आर्थिक दैनिकसम्म आइपुगेको छ । प्रधानमन्त्री निवास भित्रैबाट प्रधानमन्त्री देउवाको दुरुपयोग भएको घटना केही दिनअघि मात्र पटाक्षेप भएको छ । भानु देउवा कि प्रकाश देउवा भन्ने विषयमा घरपरिवारमा कुरो नमिलेकाले सचिवालय गठनको प्रक्रिया ढिलाइ भएको बुझिएको छ र यही विवादका बीचमा धमिलो पानीमा माछा मार्दै हिँडेका ‘माझी’हरु जताततै भेटिन थालेका छन् ।
घरभित्रबाट सुरु भएको असहयोगले प्रधानमन्त्री देउवालाई थप कमजोर बनाएको छ । योसँगै आफैँ सभापति रहेको पार्टी नेपाली कांग्रेसभित्रका स्थायी प्रतिपक्षीबाट हुने असहयोग यथावत् रुपमा रहेकै छ । पार्टीभित्रको विवादभन्दा पनि घरभित्रको विवादबाट प्रधानमन्त्री देउवा थप कमजोर देखिएका छन् । केन्द्रीय कोभिड अस्पतालमा डा. जागेश्वर गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई नियुक्त गरिएको केही घण्टामा बदर गरेर डा. भुपेन्द्र कुमार बस्नेतलाई नियुक्त गरिएको छ । निजामती ऐनअनुसार अवकाश हुने छ महिना अघिदेखि कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिइनुहुँदैन तर तीन महिनापछि अवकाश पाउने डा. आरपी विच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरिएको छ ।
धेरै विश्वास गरेर नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीबाट नै प्रधानमन्त्रीको मानमर्दन हुने गरी काम भएका छन् । माओवादी नेताहरुको कालोधन थुपारेर सहकारीका दिग्गज बनेका लालिगुरास सहकारीका सुरेन्द्र भण्डारीले कांग्रेसका पुराना नेता आनन्द ढुंगानाको बुइ चढेर बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भ्रम छरेर फर्किएका छन् । अघिल्लो पटक एउटा नवराज सिलवाल प्रकरणमा प्रधानमन्त्री देउवाको सचिवालय दुई धारमा बाँडिदा कस्तो असर प¥यो भन्ने कुरो अहिलेसम्म पनि सबैका मानसपटलमा ताजै छ तर अहिले रुप फेरेर त्यस्ता सिलवाल काण्ड निकै दोहोरिइसकेका छन् । प्रधानमन्त्री देउवाले हाँक्नुपर्ने सचिवालय कतै कतै कसले हाँकेका छन्, कतै कस्ले हाँकेका छन् तर जसले हाँकेका छन् ती सबै उनका परिवार, आफन्त र नजिकका साथीभाइ छन् ।
यस्तो परिवारिक डोमिनेसनमा परेका प्रधानमन्त्रीलाई सत्ता साझेदार दलहरुले पनि त्यस्तै व्यवहार गर्नु अन्यथा होइन र भएको पनि त्यस्तै छ । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी अनुमोदनको प्रस्ताव राख्न प्रमुख सत्ता साझेदार पुष्पकमल दाहाल प्रचण्डले नमानेको कुरा स्वयं प्रधानमन्त्री देउवाले सार्वजनिक गरिसकेका छन् । त्यसबाट लाभ पाएका सभामुख अग्नि सापकोटाले राष्ट्रिय सहमति सत्ता साझेदारको साझा सहमति भए मात्र संसद् प्रस्तुत गर्ने बताएर एमसीसी प्रस्तुत नगर्ने जनाउ दिएका छन् । पूर्ववर्ती केपी ओली सरकारले पन्छाएको लुतो स्याहारेर हिँडेका प्रधानमन्त्री देउवालाई प्रचण्ड, उपेन्द्र यादव, चित्रबहादुर केसी र माधव नेपालले एमसीसी अनुमोदन गर्न सघाउने सम्भावना देखिँदैन । यद्यपि प्रचण्डले ओली सरकार विस्थापन गर्नुअघि सघाउने वचन दिएका थिए तथापि उनी वचनका पक्का मानिस होइनन् ।
देउवाका सत्ता साझेदारहरुले नै एमसीसी पारित हुन नदिन विभिन्न बहाना खोजिरहेका बेला मोहन विक्रम सिंह, मोहन वैद्य, सीपी मैनाली, चित्र बहादुर केसी, सुभास राज काप्mले, केदार चन्द्र शर्मा, साध्य बहादुर भण्डारी, गोपाल किराँती, लोकनारायण सुवेदी, सीपी गजुरेललगायतका वामपन्थी नेताहरुले एमसीसी खारेजको माग गर्दै संयुक्त वक्तव्य समेत जारी गरेका छन् । सत्ता साझेदार र सडकका वामपन्थीहरुको यो छुट्टाछुट्टै मोर्चाबन्दीले देउवा सरकार पाइलै सार्न नसक्ने गरी जकडिएको छ । यसबाट के देखिन थालेको छ भने देउवा सरकारबाट हुनुपर्नेभन्दा हुन नहुने काम मात्र हुनेछ । अहिले नै प्रधानमन्त्री देउवाको सचिवालयबाट देउवाको प्रचारको नाममा तेजोवध हुने काम भएको छ ।
यस्तो माहोलमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु कुनै अनौठो कुरो होइन । न पार्टीभित्रबाट मन्त्री हुनेको नाम छनोट भएको छ न त सत्ता साझेदार दलले नै मन्त्री बनाउने नाम सिफारिस गरेका छन् । आप्mनै घरभित्र ओली सरकारको पालामा पैसा उठाउन खटाइएका मनेन्द्र राय मल्ल, मोतीलाल दुगड, ईश्वर ढकालजस्ता पात्र जताततै भेटिनथालेका छन् । प्रधानमन्त्री देउवाको सहमतिमा होइन, कतिपय असहमतिमा र धेरैजसो प्रधानमन्त्रीलाई जानकारी नै नदिई बाहिरबाहिरै त्यस्ता काम हुनथालेका छन्, कतिपय घटनामा त प्रधानमन्त्रीले थाहा पाएर पनि थाहा नपाएजस्तो गर्नुपरेको छ । कुबाटो हिँडेका ओलीलाई हटाएर आएका देउवाको यस्तो निरीह पथको यात्राले जनताको विश्वास जित्ने र मुलुकलाई नयाँ निकास दिने कुरामै आशंका गर्नुपर्ने अवस्था सिर्जना हुन पुगेको छ ।टिप्पणी