काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बुधबार बैंकिङ कसुुर मुद्दाका फरार प्रतिवादी कासीराम भुसाललाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको हो ।
अर्घाखाँची जुकेना घर भई हाल काठमाडौंको चन्द्रागिरि बस्ने भुसालले आफ्नो खातामा पैसा नभए पनि ग्लोबल आईएमई बैंकको चेक काटी दिएका थिए । त्यसविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनबाट २०७७ माघ ४गते भुसालविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना गरेको थियो ।
अदालतको उक्त फैसलालगत्तै फरार रहेका भुुसाललाई ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले चन्द्रागिरिबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई ललितपुर जिल्ला अदालतमा पेश गरेको प्रवक्ता प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।