काठमाडौं । संस्थागत सुशासन भताभुंग भएको जनरल इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा समितिकै निर्देशन उल्लंघन गरेको पाइएको छ । बीमा समितिले २०७८ वैशाख ३ गते जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिलाई दिएको निर्देशन हालसम्म पनि पालना नभएको पाइएको हो ।
जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष कुनाल कयाललाई समितिले दिएको निर्देशन नै अवज्ञा गरेको खुलेको छ । जनरल इन्स्योरेन्स कम्पनीको नाममा बीमा समितिले ‘अत्यन्त जरुरी’ भन्दै च.नं. २०४।०७७।०७८ पत्रमार्फत सञ्चालक समितिलाई सो कम्पनीका सञ्चालक तथा कार्यरत कर्मचारीहरुमाथि कारबाही गर्न निर्देशन दिएको थियो ।
आर्थिक दैनिकलाई प्राप्त पत्रको प्रतिलिपिमा बीमा समितिले २०७७ चैत २२ र २३ गते कम्पनीमा स्थलगत निरीक्षण गरिएको र सो क्रममा फेला परेको अनियमितताको सम्बन्धमा संलग्न कर्मचारीमाथि विभागीय कारबाही गरी बीमा समितिलाई जानकारी दिन २०७८ वैशाख ३ गते लिखित निर्देशन दिएको थियो । बीमा समितिको निर्देशन झण्डै पाँच महिनासम्म कार्यान्वयन नगरी अटेर गरेको पाइएको छ । रोचक कुरा के छ भने बीमा समितिकै निर्देशन अवज्ञा भई जनरल इन्स्योरेन्समा घोटालामा संलग्नहरु पद बहाल रही कार्य गर्दै आएका छन् ।
सिंगो बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आफूले दिएको निर्देशन बीमा समितिको केन्द्रीय कार्यालयबाट तीन किमि टाढाको दूरीमा रहेको जनरल इन्स्योरेन्स कम्पनीले कार्यान्वयन नगर्दा समेत पत्राचार गर्दै बसिरहेको फेला परेको छ । यसले बीमा क्षेत्रमा नियमन निकै फितलो र प्रभावकारी हुन नसकेको देखिएको छ । नियामक निकाय बीमा समितिकै निर्देशन उल्लंघन गरी बीमा समितिलाई आँखामा छारो हाल्ने काम गरिएको जनरल इन्स्योरेन्स कम्पनी सम्बद्ध स्रोतले जानकारी दिएका छन् ।
बीमा समितिले अनुगमनको क्रममा जनरल इन्स्योरेन्स कम्पनीमा चरम बेथिति र सुशासनहीनता र आर्थिक हिनामिना गरेको फेला पारेको थियो । बीमा कम्पनीहरुका लागि जारी गरिएको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाको २०७५ को ८ (१) मा बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको १० प्रतिशत मात्रै दोस्रो बजारमा सेयर खरिदमा लगानी गर्न पाइने व्यवस्था छ । बीमा समितिले गरेको स्थलगत निरीक्षणको क्रममा जनरल इन्स्योन्स कम्पनीमा रहेको टेक्निकल रिजर्भको १५५ प्रतिशतसम्म सेयर लगानी गरेको फेला परेको थियो ।
बीमा कम्पनीका सञ्चालकले आफ्नै कम्पनीको सेयर बजार मूल्य प्रभावित पार्न खरिदबिक्री गरेको खुलेको छ । सो कार्यमा जनरल इन्स्योरेन्स कम्पनीका सह–महाप्रबन्धक निल बरालीको समेत संलग्नता बीमा समितिले फेला पारेको थियो । बीमा समितिले माइक्रो म्यानेजमेन्ट नगर्ने नीतिअन्तर्गत कर्मचारीहरुलाई संलग्नता पुष्टिसहित संलग्नतामाथि विभागीय कारबाही गर्न सञ्चालक समितिलाई स्पष्ट रुपमा निर्देशन दिएको देखिन्छ । तर, बीमा समितिको निर्णय जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले कार्यान्वयन नगरी अवज्ञा गर्दै आएको छ ।
बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीमा सेयर खरिदसम्बन्धी १२ वटा अपराधहरु भएको तथ्य फेला पारेको थियो । सो काण्डमा मुख्य रुपमा संलग्न सञ्चालक दीपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन गरेको थियो । सेयर माफियाको रुपमा परिचय बनाए अग्रवालकै डिजाइनमा कम्पनीले करोडौँ रुपैयाँको सेयर खरिद गरेर रकम समेत भुक्तानी नगरी बसेको तथ्य उजागर भएको थियो ।
जनरल इन्स्योरेन्स कम्पनीको नाममा सेयर खरिद गर्दा कम्पनीका व्यवस्थापकहरुले सेयर खरिद गर्नुपर्नेमा अग्रवाल आफैँले टीएमएसको युजर नेम र पासवर्ड लिएर भटाभट सेयर खरिद गरेको फेला परेपछि सञ्चालक अग्रवाललाई बीमा समितिले तथ्य र प्रमाणका आधारमा निलम्बन गरेको थियो । निलम्बित अग्रवाललाई पछि राजनीतिक पहुँचका आधारमा सञ्चालक पदबाट राजीनामा गर्ने शर्तमा केही पहिले निलम्बन फुकुवा गरिएको थियो । हाल दीपेन्द्र अग्रवालले राजीनामा दिएर बाहिरिए पनि आफ्नी श्रीमती निता मुरारका अग्रवाललाई जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त गराइसकेका छन् ।
उक्त घटनामा मुख्य रुपमा संलग्न सञ्चालक अग्रवालमाथि कारबाही भए पनि अर्का सञ्चालक कृष्ण बोहरा तथा सो अनियमिततामा संलग्न लगानी उपसमितिका सदस्य सचिव सह–महाप्रबन्धक निल बरालीमाथि कुनै कारबाही गरिएको छैन । तत्कालीन महाप्रबन्धक एसके तमोट, सञ्चालक बोहरा तथा सदस्य सचिव बरालीलाई बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीको नियमअनुसार कारबाही गर्नु भनेर लिखित रुपमा निर्देशन दिएको थियो । मिलेमतोमा सेयर बिक्रीबापतको रकम बीमा कम्पनीका खातामा जम्मा नगर्ने तथा सञ्चालक समितिबाट अनुमोदन समेत नगराई कारोबार गर्ने कार्यमा संलग्न सञ्चालक तथा कर्मचारीहरुमाथि सञ्चालक समितिले हालसम्म पनि कुनै कारबाही नगरेको जानकारी बीमा समितिमा पुगेको छैन ।
रोचक कुरा के भने पाँच महिनासम्म बीमा समितिको निर्देशन कार्यान्वयन नभएकै अवस्थामा यही साउन पुनः बीमा समितिले स्थलगत अनुगमनको लागि चार्टर्ड एकाउन्टेन्ट ज्योति पाण्डेको नेतत्वमा टोली खटाएर अनुसन्धान भइरहेको छ । अनुसन्धान प्रतिवेदन बुझाउन बाँकी रहेको बीमा समिति स्रोतले जानकारी दिएको छ ।