चरिकोट । दोलखामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि खोप लगाउनेहरूलाई व्यवस्थापन गर्न नसक्दा प्रशासनकै गेटअगाडि खोप लाउने नागरिकको भीड लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यलयले मुख्य व्यापारी केन्द्र चरीकोट बजारमा कडाइ गरेर निषेधाज्ञा जारी गरे पनि निषेधाज्ञा लगाउने प्रशासनको अगाडि रहेको भीमेश्वर नगरपालिका खोप केन्द्र चरीकोट अस्पतालमा कोभिडविरुद्धको खोप लगाउन आएका सयौँ नागरिकको भिड लाग्दा समेत प्रशासन मुकदर्शक बनेको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसिएमसी)को बैठकले बिहीबारबाट भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ मा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले सदरमुकाम चरीकोटको बजार क्षेत्रका दुई वडामा सबैखाले पसल, होटल रेस्टुरेन्ट, बैंक, सहकारी तथा वित्तीय संघसंस्था बन्द गर्दै सवारी ओहोरदोहोर गर्न समेत दिएको छैन । तर प्रशासनले खोप लगाउनेहरूको भीडलाई व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रबाट कोभिडको महामारी नियन्त्रणभन्दा बाहिर जानेमा चरीकोटका स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् । दोलखामा कोभडिका संक्रमितहरूको संख्या बढेपछि स्थानीय प्रशासनले दुईवटा वडामा मात्रै निषेधाज्ञा जारी गरेसँगै व्यापक आलोचना समेत भइरहेको छ ।
सरोकारवालाहरूले जिल्ला पूरै निषेधाज्ञा गर्न पनि नसक्ने र प्रशासन कार्यलयको गेटअगाडि नै भएको भीडभाडलाई व्यवस्थित पनि गर्न नसक्नुले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको कार्यक्षमतामाथि नै प्रश्न उठाउन थालेका छन् । स्वास्थ्य कार्यालय दोलखाले पहिलो खोप लगाइसकेका र दोस्रो खोप लगाउन बाँकी रहेकाहरूलाई खोप लगाउन बिहीबार, शुक्रबार र शनिबार चरीकोट अस्पतालमा दुईटा केन्द्र तोकेर खोप लगाउन बोलाएको छ ।
यसैगरी बिहीबार मात्रै दोलखामा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यलय दोलखाले दिएको जानकारीअनुसार चरीकोट अस्पतालमा ५९ जनाको पीसीआर परीक्षण गर्दा ३३ जना र गाउँपालिकाहरूमा ५२ जनाको एन्टिजिन परीक्षण गर्दा २४ जनामा नयाँ संक्रमण देखिएको हो । यससँगै दोलखामा सकृय संक्रमितको संख्या चार सय ७२ पुगेको छ ।
स्थानीय प्रशासनको रबैयाका कारण दोलखामा कोभिडका संक्रमितको संख्या अझै वृद्धि हुने आकलन गरिएको छ । यता यसबारे स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले भने खोप लगाउने नागरिक सचेत नहुँदा भीडभाड बढेको बताए । भीड व्यवस्थापनको जिम्मा भीमेश्वर नगरपालिकालाई दिएको उनको भनाइ छ । तर भीमेश्वर नगरपालिकाले भने खोप लगाउन आउने नागरिकहरूलाई उचित ढंगले व्यवस्थापन गर्न सकेको छैन ।
भीडभाडका बीच चरीकोट अस्पतालको खोप केन्द्रमा बिहीबार मात्र करिब एक हजार एक सय जनाले कोरोनाविरुद्धको दोस्रो खोप लगाएका छन् । स्थानीयहरू खोप लगाउन बिहानदेखि नै खोपकेन्द्रमा पुगेर लाइन बसेको कोरोनाविरुद्धको दोस्रो दोज लगाउन पुगेका सहदेव बस्नेत बताए ।