काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात् गत वर्षजस्तै चालु आव २०७८/०७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रूपमा बैंकिङ तालिम प्रदान गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नको लागि नियमित रूपमा कर्मचारीहरूलाई तालिम दिइरहेको बताउँदै तालिमले बढिरहेको जोखिमको सामना गर्न सघाउ पुगेको बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले बैंकिङ क्षेत्रमा भएको ज्ञानको कमीलाई पूरा गरेको बताए । उनले निकट भविष्यमा नै एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीसंँग मिलेर बैंकिङ तथा वित्तीय विषयमा एकवर्षे स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु गर्ने समेत जानकारी दिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने सिकाइ तथा विकास विभागका विभागीय प्रमुख दीपकराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतद्वय देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, मानव संसाधन विभागका प्रमुख भीमप्रसाद घिमिरे, कम्पनी सचिव भोलानाथ पौडेल, नेसनल बैंकिङ इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा दुई सय ४७ वटा शाखा कार्यालय, दुई सय नौ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।