काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनकेन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिबार भर्चुअलरूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभामा उनले उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिए । यसको लागि सामान्य प्रयन्तले नपुग्ने भन्दै उनले गुणात्मक प्रयन्त जरुरी रहेको बताए ।
यस्तै उनले कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महसुस गर्नेगरी सरकारले पाइला चाल्ने जानकारी गराउँदै भर्खरै सार्वजनिक मौद्रिक नीतिमार्फत केही सम्बोधन गर्ने प्रयास गरिएको बताए । राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के–कस्तो नीतिगत सुधार चाहन्छ, त्यसको लागि लागि सरकार तयार रहेको उनको भनाइ थियो । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग रहने उनले अपेक्षा गरे । राष्ट्रिय सम्पत्ति कति हो भन्ने कुरा मूल्यांकन गरेर वैदेशिक लगानीको लागि समेत उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पुँजी निर्माण गर्नतिर लाग्नुपर्नेमा समेत उनको जोड थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिडपछिको पुनोरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको टिप्पणी गरे । उनले सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले ‘एक प्यान, एक खोप’ नीति अघि सार्न सरकारसँग माग गरे ।
असहज परिस्थितिमा लोक कल्याणकारी राज्यले जनतालाई राहत दिने भनेको कर छुट भएको स्मरण गराउँदै अध्यक्ष श्रेष्ठले परिमार्जित बजेटबाट करको दर कम हुने, मूल्य अभिवृद्धि दर कम गर्ने, आगामी केही वर्षसम्म बैंक ब्याजदर एकलदरमा नबढ्ने तथा लघु–साना–घरेलु उद्योग व्यवसायलाई प्रत्यक्ष सहयोग हुने राहत प्याकेजको व्यवस्था हुने आशा व्यक्त गरे ।