काबुल । अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकुको नियन्त्रणमा पुगेको छ । तालिबान लडाकुले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन् ।
पछिल्लो पटक तालिबान लडाकुको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त रहेका छन् । तीबाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन् । अन्य सबै भाग तालिबान लडाकुको नियन्त्रणमा रहेका छन् ।
लडाकुले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन् । पछिल्लो समय अफगानिस्तानमा संघर्षरत तालिबान लडाकु बढी आक्रामक देखिएका छन् । उनीहरूले धेरै ठाउँमा आक्रमण गरेका छन भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन् ।
एकपछि अर्काे सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिन अगाडि नै कब्जा गरेको छ । कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसाबले समेत महत्वपूर्ण क्षेत्र हो ।
अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकुको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ । उनीहरूको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् । संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियान प्रति चासो र चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानका राहतकर्मीले झण्डै चार करोड जनसंख्यामध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।
देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्यांकन गरिएको राष्ट्रसंघका मानवीय सहयोग मामिला अधिकारीले बिहीबार बताएका हुन् । त्यस्तै, अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहले गतिविधि तीव्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताएका छन् ।
अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिवान समूहले नियन्त्रणमा लिएको भनी समाचार आइरहेका समय उनले द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता व्यक्त गरे । ‘अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ’, घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भने ।
उक्त सम्बोधनमा उनले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताएका हुन् । उनले भने, ‘अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरूलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।’
राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताए । तालिबान विद्रोहीहरूले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानीहरू कब्जामा लिएको दाबी गरिरहेका समय राष्ट्रपतिको यो भनाइ आएको हो ।
त्यसैगरी, संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्ना सशस्त्र विद्रोही लडाकुलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकु समूहलाई भनेका छन् ।
उनले भनेका छन्, ‘हालका लागि यो कार्यलाई रोकेर शान्तिपूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।’ उनले अफगानिस्तानको तालिबान समूहलाई शान्तिपूर्णरुपमा आफ्ना माग राख्न आग्रह गर्दै वार्ताको टेबलमा बस्न पनि आग्रह गरेका छन् । हाल तालिबानले अफगानिस्तानमा एकपछि अर्काे कार्यालय कब्जा गरिरहेको बताएका छन् । हाल अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कि सकेको छ ।
विदेशी सैनिक फर्किएलगतै तालिबान लडाकुले अफगानिस्तान कब्जा गर्ने गरी कार्यक्रम अघि सारेका छन् र उनीहरू एकपछि अर्काे गरेर अघि बढ्दै छन् । जसका कारण अफगानिस्तानमा हिंसा भइरहेको छ । तालिबानले सहर कब्जा गर्न सशस्त्र विद्रोह गरिरहेका छन् भने अफगानिस्ताको सेनाले तालिबानका विरुद्ध कारबाही पनि जारी राखेको छ । जसका कारण पछिल्ला दुई हप्ता यतामात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी व्यक्ति घरबास छोडेर भागेका छन् भने कैयौँ सर्वसाधारण नागरिक सरकारी सेना र तालिबानी लडाकुको भिडन्तमा परेर मारिएका पनि छन् ।
महासचिव गुटर्रेसले बलपूर्वक गरिएका कुनै पनि कार्यको सट्टामा शान्तिपूर्णरुपमा वार्ताको टेबलमा बसेर सबै कुरा गर्न आग्रह गरेका हुन् । उनले वार्ताका लागि तालिबान लडाकुको समूहलाई पनि शान्तिपूर्ण वार्ताको टेबलमा बस्न आग्रह गरेका छन् । यसैगरी तालिवान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । केन्द्रीय राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् ।
उनीहरूले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् । अफगानिस्तानमा संघर्षरत तालिवान लडाकुको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ ।
अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकुले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन । राजधानी कब्जा गर्ने अभियानमा उनिहरू निकै सफल देखिएका छन् । विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकुले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेका थिए । उनीहरूको छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएको छ । एजेन्सीको सहयोगमा