काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आव २०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा तीन अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा चार अर्ब ३७ करोड रूपैंया रहेको थियो । यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रूपमा घटाएको र निक्षेप तर्फ आकर्षक ब्याज प्रदान गरिएको कारण खुद ब्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।
आव २०७७/७८ को बैंकको खुद ब्याज आम्दानी आठ अर्ब २४ करोड (गत वर्ष नौ अर्ब ४५ करोड), कुल सञ्चालन आम्दानी नौ अर्ब ७६ करोड (गत वर्ष १० अर्ब ७० करोड), सञ्चालन नाफा पाँच अर्ब नौ करोड (गत वर्ष पाँच अर्ब ९४ करोड), कुल समग्र आम्दानी छ अर्ब ३७ करोड (गत वर्ष दुई अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा चार अर्ब ५२ करोड (गत वर्ष ४४ करोड ७७ लाख) रहेको छ । यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।
२०७८ असार मसान्तमा बैंकको ग्राहक निक्षेप दुुई खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट एक खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४ दशमलव ३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । आव २०७७÷७८ मा बैैंंकको सेयरधनी कोष सात अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रूपैयाँले वृद्धि भई तीन खर्ब १० अर्ब रूपैयाँ पुगेको छ ।
२०७८ असार मसान्तसम्ममा पुँजी कोष अनुपात १४ दशमलव ३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात प्रतिशत, आधार दर पाँच दशमलव ४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात तीन दशमलव सात प्रतिशत, ब्याजदर अन्तर चार दशमलव ३७ प्रतिशत, कोषको लागत दर तीन दशमलव २४ प्रतिशत तथा प्रतिसेयर आम्दानी ४१ रूपैयाँ ३२ पैसा रहेको छ ।
आव २०७७/७८ को चौथो त्रैमाससम्मको समीक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, सेयरधनी कोष, कर्जाको गुणस्तरलगायत समग्र व्यावसायिक नतिजाहरूमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकांकहरू परिपालना गर्न तथा प्रमुख परिसूचकहरूमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।
बैंकको उपरोक्त सफलताको लागि उल्लेखनीय योगदान पु-याउनु हुने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, सेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारीलगायत समग्र सरोकारवालाहरूप्रति बैंक हार्दिक धन्यवाद प्रकट गर्दछ साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।