काबुल।तालिबानले पूरै अफगानिस्तान कब्जा गरेको छ । अमेरिकाले सेना फिर्ता गर्ने घोषणा गरेपछि हौसिएको आतंकवादी संगठन तालिबानले पाँच महिना (अप्रिल–अगस्ट)मै पूरै देश कब्जा गर्न सफल भएको हो ।यता आइतबार काबुल घेरेको तालिबानसँग वार्ताको प्रयास भए पनि सफल नभएपछि अफगानी राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन् । योसँगै अफगानिस्तान तालिबानको कब्जामा पुगेको छ । विदेशी राजदूतावासबाट कूटनीतिज्ञहरुलाई विभिन्न देशले उद्धार गरिरहेका छन् ।
हमिद कारजाई विमानस्थलमा दूतावास सारेका अमेरिका र युरोपेली देशले आआफ्ना कूटनीतिज्ञलाई उद्धार गरी स्वदेश लगिरहेका छन् भने कर्मचारीको पनि उद्धार भइरहेको छ । अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने पुरानै योजनाअनुसार काम गरिरहेको भन्दै तालिबानले अवरोध गरे कडा सैन्य जवाफ दिने चेतावनी दिएको छ ।
२० वर्ष सत्ताबाट बाहिर बसेको तालिबान अन्ततः फेरि सत्तामा पुगेको हो । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादी आक्रमण भएपछि अमेरिकी सेनाले तालिबानलाई सत्ताच्यूत गरेको थियो । त्यसयता अमेरिकी सेना अफगानिस्तानमा रहेर तालिबानविरुद्ध कारबाही व्यापक बनाएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको पालामा अफगानिस्तान छिरेको अमेरिकी सेना जो बाइडेनको पालामा बाहिरिएको हो ।
अमेरिकी सेना बाहिरिएपछि तालिबान हावी भएको हो । तालिबानविरुद्ध हारेर फर्किएको र अफगानिस्तान तालिबानको कब्जामा जान दिएको भन्दै कतिपय अमेरिकी सांसदले बाइडेनको चर्को आलोचना पनि गरिरहेका छन् भने बाइडेनले पूर्वराष्ट्रपति ट्रम्पतर्फ औँलो सोझ्याएका छन् । तर ट्रम्प प्रशासनका विदेशमन्त्री माइक पोम्पेओ र स्वयं ट्रम्पले भने आफ्नो योजनाअनुसार काम नगरेर तालिबानलाई सत्ता कब्जा गर्न दिएको बाइडेनमाथि आरोप लगाएका छन् ।
बाइडेनले आफ्नो योजना नपछ्याएको ट्रम्पको आरोप
अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्नपुगेको धारणा राखेका छन् । अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको ट्रम्पले आरोप लगाएका हुन् ।
अमेरिकी समयअनुसार शनिबार जारी गरिएको विज्ञप्तिमा ट्रम्पले भनेका छन्, ‘हाम्रो प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना पछ्याउनुको सट्टा उहाँ अफगानिस्तानबाट बाहिर निस्किनुभयो ।’ आफ्नो योजनाले अमेरिकी जनता र सम्पत्तिको सुरक्षा ग¥यो र तालिबानले कहिल्यै पनि अमेरिकी दूतावास लिने वा अमेरिकाविरुद्ध नयाँ आक्रमणका लागि आधार प्रदान गर्ने सपना देख्ने छैन भन्ने सुनिश्चित गरेको उनको भनाइ छ । उनले भनेका छन्, ‘त्यो फिर्ता अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तथ्यद्वारा निर्देशित थियो ।’
अमेरिकी रिपब्लिकन नेता ट्रम्पले भने, ‘मैले आईएसआईएसलाई पराजित गरेपछि एउटा भरपर्दो रोकथाम गर्ने सोच बनाएँ । त्यो रोकथामको उपाय अहिले प्रभावहीन बनेको छ । तालिबानलाई अब अमेरिका वा अमेरिकाको शक्तिप्रति डर वा सम्मान छैन ।’काबुलमा रहेको अमेरिकाको दूतावासमाथि तालिबानले झण्डा उठाउँदा अपमान हुने उनले बताए । ‘कमजोरी, अक्षमता र पूर्ण रणनीतिक असमझदारीका कारण यो पूर्ण असफल हुनेछ’, उनले भनेका छन् ।
काबुलबाहेक सबै प्रमुख सहरहरूमा तालिबानले कब्जा गरेको दाबी गरिरहँदा शनिबार बाइडेनले अफगानिस्तानमा थप एक हजार सेनाको तैनाथी गर्ने अधिकारमा हस्ताक्षर गरेका थिए । यसले गर्दा युद्धग्रस्त देशमा अमेरिकी सेनाको संख्या पाँच हजार पुगेको छ । बाइडेनको यो निर्णय आफ्ना कर्मचारीहरूलाई सुरक्षित र व्यवस्थित ढंगले स्वदेश फिर्ता गर्न सुनिश्चित गर्नु मात्रै रहेको छ ।आर्थिक दैनिक