काठमाडौँ । सेयरबजारमा मौद्रिक नीतिको आंशिक प्रभाव देखिएको छ । शुुक्रबार चालू आवको मौद्रिक नीति घोषणा भएपछिको पहिलो दिन आइतबार सेयरबजार परिसूचक उच्च अंकले ओरालो लागे पनि कारोबार रकम भने झण्डै २२ अर्ब रुपैयाँ अर्थात् २१ अर्ब ६४ करोड ७६ लाख छ सय ५५ रुपैयाँको कारोबार भएको छ । उक्त कारोबार हालसम्मको उच्च हो । सेयर घट्दा खरिदकर्ता बढ्नाले साना लगानीकर्ता डराएको र ठूला लगानीकर्ता हौसिएको प्रस्ट भएको छ । साना लगानीकर्ता डराएर सेयर बेच्न बस्दा ठूलाले करिब सबै सेयर उठाएको देखिएको छ ।
राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत मार्जिन लेन्डिङ अर्थात् सेयर धितो कर्जामा एकल व्यक्ति वा संस्थाको हकमा चारदेखि १२ करोड रुपैयाँसम्मको ‘सिलिङ’ तोकिदिएको छ भने ‘क्रस होल्डिङ’ सेयर भएका लघुुवित्त संस्थाहरुलाई मर्जर वा प्राप्तिमा जान निर्देशन दिएको छ । मौद्रिक नीतिमा भएका यिनै विषयहरुले साताको पहिलो दिन आइतबारको सेयरबजार प्रभावित बनेको छ ।
केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जालगायतका विषयमा कडाइ गर्ने नीति लिएसँगै सेयरबजारमा यसको नकारात्मक प्रभाव देखिएको हो ।यस दिन सेयरबजार परिसूचक २४ दशमलव ८८ अंकले ओरालो लागेर तीन हजार एक सय ५४ दशमलव तीन अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि एक दशमलव नौ अंकले ओरालो लागेर पाँच सय ८९ दशमलव २८ अंकमा सीमित भएको छ ।
यस दिन १३ वटा उपसमूहअन्तर्गत दुुई सय २२ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट एक लाख ८९ हजार सात सय ३६ पटकको कारोबारमा तीन करोड ५५ लाख ५० हजार छ सय ८८ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा यस दिन कुुल सेयर कारोबार रकम २१ अर्ब ६४ करोड ७६ लाख छ सय ५५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुुल उपसमूहमध्ये तीनवटा उपसमूहको सूचक उकालो लागे पनि बाँकी १० वटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक उपसमूहको सूचक सात दशमलव १५ अंकले ओरालो लागेर दुुई हजार एक सय १७ दशमलव ९४ अंकमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि एक सय ६० दशमलव १३ अंकले ओरालो लागेर पाँच हजार पाँच सय ८८ दशमलव ८१ अंकमा झरेको छ । जलविद्युुत् उपसमूहको सूचक पनि एक सय ५७ दशमलव ४१ अंकले ओरालो लागेर तीन हजार छ सय ५५ दशमलव ५२ अंकमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि दुुई सय २४ दशमलव ६२ अंकले ओरालो लागेर १४ हजार चार सय ३८ दशमलव २७ अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि एक सय ९१ दशमलव दुुई अंकले ओरालो लागेर १८ हजार १९ दशमलव पाँच अंकमा झरेकोमा ट्रेडिङ, होटल तथा पर्यटन, फाइनान्स, अन्य र सामूहिक लगानी कोष उपसमूहहरुको सूचक पनि क्रमशः ३६ दशमलव पाँच, ६६ दशमलव चार, ८७ दशमलव पाँच, ४० दशमलव १४ र शून्य दशमलव १३ अंकले ओरालो लागेका छन् । उत्पादनमूलक उपसमूहको सूचक भने यस दिन एक सय १५ दशमलव १२ अंकले उकालो लागेर छ हजार नौ सय ८१ दशमलव ४९ अंकमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि एक सय १५ दशमलव १२ अंकले उकालो लागेर पाँच हजार आठ सय ८६ दशमलव ४६ अंकमा चढेको छ । यसैगरी लगानी उपसमूहको सूचक पनि शून्य दशमलव ६६ अंकले उकालो लागेको छ ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर चार सय १८ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर आठ सय ५४ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक ज्योति विकास बैंक, आईसीएफसी फाइनान्स आदिको प्रतिकित्ता सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको एनआईबीएल प्रगति फण्डको प्र्रतियुनिट सेयर मूल्य आठ दशमलव ५४ प्रतिशतले घटेर १२ रुपैयाँ ८५ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि आठ दशमलव ५२ प्रतिशतले घटेर आठ सय पाँच रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।
यीबाहेक श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदिको प्रतिकित्ता सेयर मूल्य पनि घटेका छन् ।यस दिन नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको एकै दिन प्रतिकित्ता पाँच सय ३८ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब पाँच करोड ४४ लाख ६६ हजार पाँच सय ७४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिस्टिलरी प्रालिको पनि प्रतिकित्ता सात हजार ४५ रुपैयाँ अन्तिम मूल्यमा ७९ करोड २५ लाख ४२ हजार आठ सय ३१ रुपैयाँको कारोबार भएको छ । यीबाहेक अपी पावर लिमिटेड, रिडी हाइड्रोपावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।