काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरुवात गरेको छ । वित्तीय संस्थाको यो शाखा थप भएपछि अब १४ वटा शाखा र पाँच वटा एक्सटेन्सन काउन्टरहरूबाट वित्तीय सेवा प्रवाह हुनेछन् । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरू उक्त नयाँ शाखाबाट समेत प्रवाह हुने बताइएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९ को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले जीतपुर सिमरा नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरूमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाहलगायतका वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आईपीएस, कनेक्ट आइपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिटान्स सेवाहरूको उपलब्धता रहेको यस प्रोग्रेसिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरूमा थप दुईवटा शाखाहरू तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले जानकारी दिएका छन् ।