काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेसामा संलग्न उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका हुुन् ।
कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आयआर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरूलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्धिको दिशातर्फ अघि बढ्ने एक अभियानका रूपमा सञ्चालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको हो ।
यो सम्झौताबाट वैदेशिक रोजगारीबाट सीप र अनुभवसहित स्वदेश फर्किएका युवालाई पुनः विदेशिनुपर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्नेछ । यसका लागि बैंकले विभिन्न बैंकिङ सेवा सुविधाहरू सहज तथा सहुलियत रूपमा प्रदान गर्नेछ ।
यसका साथै, सरल तथा सहज तरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताको लागि नेपालमै सम्भावना छ भन्ने सकारात्मक सोचको प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८० शाखा, दुुई सय ४८ एटीएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ५० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।