काठमाडौँ ।सरकारले हालसम्म अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने विषयमा कुनै ठोस योजना सार्वजनिक गरेको छैन । अफगानिस्तानमा रहेका नेपालीको संख्या एकीन समेत नभएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धारका लागि निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।
‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’, ट्विटरमार्फत प्रधानमन्त्री देउवाले भने, ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’
विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएसँगै अफगानिस्तानमा तनाव सिर्जना भएको छ । यद्यपि विदेशी नागरिक तथा नियोगहरू सुरक्षित नै छन् । त्यस्तै गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पनि सोमबार अफगानिस्तानमा घटेको घटना र त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षित रुपमा उद्धार गर्ने विषयलाई समन्वयात्मक र प्रभावकारी बनाउन जोड दिए ।
अफगानिस्तान घटनाले नेपाल र नेपालीमा प्रभाव पार्ने बताउँदै उनले सहकार्यमार्फत मन्त्रालय अघि बढ्नुपर्ने बताए । ‘अफगानिस्तान घटनाले नेपालमा पनि केही न केही प्रभाव पर्नसक्ने देखिएको सन्दर्भसहित त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा कार्ययोजनासहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरुलाई घरसम्म पुराउने व्यवस्था समेत मिलाउन सरोकारावाला मन्त्रालय अघि बढ्नु आवश्यक छ’, उनले भने, ‘परराष्ट्र, गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारका लागि एकआपसमा सूचना आदानप्रदान र समन्वय गरेर प्रभावकारी रुपमा कार्य गर्नु आवश्यक छ। सोही अनुरुप अघि बढ्नु ।’
गृहसचिव टेकनारायण पाण्डेले अफगानिस्तान घटनाबाट नेपालमा कुनै न कुनै रुपमा प्रभाव देखिन सक्ने हुँदा पूर्वसावधानी आवश्यक रहेको बताए ।‘अफागानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि परराष्ट्रमार्फत कूटनैतिक सम्पर्क बढाउने, पर्यटन मन्त्रालयले वायुसेवालाई तयारी अवस्थामा राख्ने नेपाली नागरिकलाई नेपाल ल्याइसकेपछि उनीहरूको व्यवस्थापन गर्न होल्डिङ सेन्टर, होटल क्यारेन्टाइन र खोपलगायतका स्वास्थय सामग्रीको व्यवस्थापन गर्ने, सीमानाकामा निगरानी बढाउन आवश्यक छ’, उनले भने, ‘उक्त घटनालाई लिएर हुनसक्ने कुनै पनि गतिविधिउपर निगरानी एवं नियन्त्रण गर्ने गरी आफूहरू तयारी अवस्थामा रहन आवश्यक छ ।’
परराष्ट्रले हाल अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था, उनीहरूको सुरक्षा र सुरक्षित तवरबाट स्वदेश फर्काउन भइरहेको प्रयासबारे बैठकमा जानकारी गराए ।परराष्ट्रले अफगानिस्तानमा रहेका एक सय ३४ जना नेपाली सम्पर्कमा आएको जानकारी दिएको छ । सोमबार साँझसम्म एक सय ३४ जना नेपाली उद्धार प्रतीक्षामा रहेको परराष्ट्रले जनाएको छ । अफगानिस्तानमा भएका र उनीहरूका आफन्तले उनीहरूको बारेमा जानकारी गराएका हुन् ।
सोमबारको बैठकमा गृह सचिव पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरू, कोभिड १९ संकट व्यवस्थापन केन्द्रका प्रतिनिधिहरू र अफगानिस्तानमा रहेका नेपालीहरूको व्यवस्था वस्तुगत रुपमा एकीन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न परराष्ट्रका सहसचिवको अध्यक्षतामा गठित कार्यदलका सदस्यहरू समेतको उपस्थिति थियो ।
सुरक्षा निकायका प्रमुखहरूबाट उक्त घटनाबाट मुलुकमा पर्नसक्ने प्रभाव र सुरक्षा सम्बन्धमा अपनाउनुपर्ने सावधानीका विषयमा प्रस्तुति गरेका थिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले फेरि भन्यो– सुरक्षित उद्धार गर्नु
यसैबीच, सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयसँग अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाका सम्बन्धमा छलफल गरेको छ । छलफलमा समितिले अफगानिस्तानमा रहेका नेपालीहरूको सुरक्षित रुपमा उद्धार गर्न निर्देशन दिएको छ । उसले अफगानिस्तानमा तालिवान विद्रोहीले राजधानी काबुल समेतलाई नियन्त्रणमा लिएको देखिएकाले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सुरक्षित रुपमा हवाइ तथा अन्य माध्यमबाट उद्धार गर्नको लागि सरकारलाई निर्देशन दिएको छ । तत्काल कूटनीतिक लगायतका सबै उपायको अवलम्बन गरी उद्धार गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
समिति सदस्यहरूले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको विवरण परराष्ट्रलाई दिनुपर्ने जनाएको छ । विदेशस्थित नेपाली नागरिकहरूको हक–हित र सुरक्षाको लागि परराष्ट्र तथा विदेशस्थित कूटनीतिक नियोगहरूले काम गर्नुपर्ने हुँदा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको विवरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्रलाई अनिवार्य रुपमा नियमित पठाउने व्यवस्था गर्न उसले सरकारलाई निर्देशन दिएको छ ।
समितिले मन्त्रालयका सचिव भरतराज पौड्यालसँग अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी माग गरेको थियो । यसैगरी समितिले विविध विषयअन्तर्गत भूतपूर्व गोर्खा सैनिकका समस्या एवं सो समस्या समाधानका सम्बन्धमा समितिले विगतमा उच्च स्तरीय वार्ता टोली गठन गर्न सरकारलाई दिएको निर्देशन, दार्चुला जिल्लामा जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटना लगायतका विषयका सम्बन्धमा समेत छलफल भएको छ ।